free website hit counter

चीनमा बनेको कोरोना भ्याक्सिनको मूल्य १६५००

beemaadmin
२०७७ भाद्र ११, बिहीबार

बेइजिङ। कोरोना संक्रमको उदय भएको छिमेकी मुलुक चीनले कोरोनाको भ्याक्सिन निर्माण गरेको दाबी गर्दै मूल्य समेत तोकेको छ । बीबीसीका अनुसार सिनोफार्मले खोपको मूल्य १४० डलर (नेपाली रुपैयाँ करिब रु. १६,५००) राखिएको छ। निर्माणाधीन सो खोप यसै वर्षको अन्त्यसम्ममा बजारमा उपलब्ध हुने सिनोफार्मले जनाएको छ। विकसित देशहरूबीच कोरोना विरुद्धको खोप निर्माणमा तीव्र रूपमा प्रतिस्पर्धा भइरहेको अवस्थामा चीनले खोपको मूल्य तोकेको हो। गत साता मात्र विकासको क्रममा रहेको एउटा खोपको तस्बिर सरकारी सञ्चारमाध्यममा छापिएको थियो। उक्त तस्बिरमा प्रयोगशालामा एउटी महिलाले सानो बाकस समातेकी छिन्।

हाल विश्वभर अन्तिम चरणको परीक्षणका क्रममा ६ वटा खोपहरू रहेका छन्। बीबीसीका अनुसार तीमध्ये आधा चिनियाँ खोपहरू हुन्। यसअघि रुसले ‘सुरक्षित तथा भरपर्दो खोप विकास गरेको’ भन्दै उत्पादनका लागि अनुमति प्रदान गरेको थियो। साथै राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो चरणमा चिकित्सक र शिक्षकलाई खोप प्रदान गरिने बताएका थिए। यसले खोप निर्माणको होडमा रुस अगाडि भएको देखिएको थियो। तर गएको साता चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले चीनका उच्च जोखिममा रहेका अधिकारीलाई जुलाईदेखि नै खोप दिइदै आएका बताएका थिए। राष्ट्रिय स्वास्थ्य आयोगका जेङ जोङ्वेईले आपत्कालीन अधिकार प्रयोग गरेर सीमावर्ती क्षेत्रहरूमा विकासकै चरणमा रहेका खोप दिइएको बताएका छन्।

यसरी निर्माण प्रतिस्पर्धामा रहेका खोपहरू बजारमा उपलब्ध हुने समयमा भने कुनै निश्चितता रहेको छैन। हङकङ यूनिभर्सिटी पब्लिक स्कूल अफ हेल्थका प्राध्यापक बेन काउलिङका अनुसार परीक्षणको तेस्रो चरणमा रहेका खोपहरू डिसेम्बरसम्ममा बजारमा आउन सक्छन्। ‘डिसेम्बरसम्ममा बजारमा केही खोपहरू आउन सक्छन्’, उहाँले भन्नुभयो, ‘तर आवश्यक पर्ने ठूलो मात्रामा उपलब्ध हुन्छन् कि हुँदैनन् भन्ने मलाई थाहा छैन।’ गत वर्षको डिसेम्बरदेखि फैलिएको कोरोना भाइरसबाट हालसम्म विश्वभर २ करोड ४२ लाख बढी संक्रमित भइसकेका छन्। साथै हरेक दिन लाखौँ नयाँ संक्रमित थपिइरहेका छन्। संक्रमितमध्ये ८ लाख २६ हजार ३६८ को ज्यान गइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक रहेको छ।

सम्बन्धित समाचार