काठमार्डाैं । सामान्य मानिसले कल्पना गर्नै नसक्ने मुल्य कायम भएको सुनको बजार भाउ अन्तर्राष्ट्रिय बजारको चहलपहलले घटबढ हुनेक्रम जारी रहेको छ । चीनले सन् २०२५ नोभेम्बर १ देखि चीनमा खुद्रा बिक्रेताहरूले सांघाई गोल्ड एक्सचेन्जबाट किनिएको सुन बिक्री गर्दा मूल्य अभिवृद्धि कर कटौती गर्न नपाउने भएको छ । यो नियम ढिक्का सुन (गोल्ड बार), सिक्का, गहना तथा आद्योगिक प्रयोजनका सबै सुनको सामाग्रीमा लागू हुने चीनको अर्थ मन्त्रालयले जनाएको छ । कर छुट हटाउँदा चिनियाँ उपभोक्ताहरुका लागि सुन किन्ने लागत बढ्ने भएको छ। चीन सरकारले कमजोर सम्पत्ति बजार र सुस्त आर्थिक वृद्धिका कारण राजस्व बढाउने उद्देश्यले सुनमा दिइएको भ्याट छुट हटाएको हो । विश्वका उदियमान अर्थतन्त्रका केन्द्रीय बैंकहरुले अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उनको बेलगाम नीतिहरुका कारण अमेरिकी डलरको निर्भरता घटाउन सुनमा लगानी बढाएका थिए जसले गर्दा सुनले गत अक्टोबरमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औन्स ४४ सय डलरको नजिक पुगेको थियो । डलरको निर्भरता घटाउने नाममा उदियमान अर्थतन्त्रको रुपमा लिइएको ब्रीक्समा आबद्ध भारत र चीनले सुनको आयातलाई बढाउँदै लगेका थिए । रसिया युक्रेन तनाव, इजरायल हमास युद्धका कारण असुरक्षित देखिएका लगानीकर्ताले समेत सुरक्षित लगानीको रुपमा सुनमा लगानी बढाउँदा सुन ‘ओभरबउट’ अवस्थामा पुगेको थियो । सुनको मूल्य उच्च हुनुमा भारतलगायतका देशहरुमा चाडपर्वसँग सम्बन्धित माग पनि जोडिएको थियो । अब चाडपर्व पनि सकिएसँगै माग समेत घट्न थालेको छ । यता अमेरिका–चीनबीचको व्यापार सम्झौताले समेत सुरक्षित लगानीको रूपमा रहेको सुनको माग घटाएको हो । नेपाल भारत खुला सीमानाका कारण दुई देशबीचका भन्सार दरमा फरकका कारण सुन एक देशबाट अर्को देशमा सुन तस्करीको सञ्जाल मौलाएको थियो । नेपालमा सुन तस्करी मौलाउनुमा चीनमा सुनको मूल्य नेपालको तुलनामा सस्तो हुनुलाई पनि लिने गरिएको छ । विशेषगरी नेपालमा भन्दा तुलनात्मक रुपमा सस्तोमा सुन पाउँदा सुन तस्करी मौलाएको थियो । नेपालमा विमानस्थल तथा विभिन्न भन्सार नाकाहरुबाट सुन तस्करी भएका कान्डहरु बेला बेलामा घट्ने गरेको छ । चीनमा गरिएको पछिल्लो भ्याट छुट खारेज हुँदा चीनमा सुनको सुनको खुद्रा मूल्य महँगो हुनेछ जसले नेपालमा हुने चीनबाट हुने सुन तस्करी स्वतः घट्ने विश्लेषण गरिएको छ । चीनको विश्वको सबैभन्दा ठूलो उपभोक्ता हो । चीनमा सुनको खुद्रा मूल्य घट्दा समग्र माग पक्षमै कमी आई अझै सुनको मूल्य घट्न सक्ने सम्भावना नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए । उनले विगतमा डलरको निर्भरता घटाउन सुन किनेका केन्द्रीय बैंकहरुले सुन बिक्री गर्न शुरु गरेमा रसिया युक्रेन तथा इजरायल हमास युद्ध विस्तारै समाधान तिर गएमा सुनको मूल्य पुनः डेढ लाखमा आउन सक्ने उनले बताए । नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रति तोला २ लाख ५८ हजार रुपैयाँसम्मको उच्च मूल्य पुगेको थियो । चीनको नयाँ नियमले सुनको विश्व बजारमै असर गराउन सक्ने देखिएको छ।