free website hit counter

छिमेक लघुवित्तले शेयरधनीलाई दिने भयो २५ प्रतिशत लाभांश

beemaadmin
२०८३ मंसिर १२, शुक्रबार

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित पुस ६ गते २५औँ वार्षिक साधारण सभा बोलाएको छ।

संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको ३४७औँ बैठकले मकवानपुरको हेटौंडास्थित होटल सामना प्रालिको सभाहलमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो।

Advertisement
Advertisement

सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव छ। त्यस्तै, सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू स्वीकृत गर्ने कार्यसूची रहेको छ।

Advertisement
Advertisement

संस्थाले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव सभामा पेस गर्नेछ। प्रस्तावअनुसार ११.९६३१ प्रतिशत बोनस शेयर र १३.०३६९ प्रतिशत नगद लाभांश वितरण गरिनेछ।

बोनस शेयरबापत ४३ करोड २७ लाख ३५ हजार ८९८ रुपैयाँ ५० पैसा र नगद लाभांशबापत ४७ करोड १५ लाख ८० हजार १२६ रुपैयाँ ८८ पैसा वितरण गर्ने प्रस्ताव छ। नगद लाभांशमा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको संस्थाले जनाएको छ।

त्यस्तै, संस्थाको अधिकृत पुँजी ३ अर्ब ७५ करोड रुपैयाँबाट बढाएर ५ अर्ब रुपैयाँ पुर्‍याउने र सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेस हुनेछ। बोनस शेयर वितरणपछि जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्तावसमेत छलफलका लागि राखिनेछ।

अन्य ‘घ’ वर्गका एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थालाई गाभ्ने वा प्राप्ति गर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ। यसका साथै संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न व्यवस्था संशोधन गर्ने प्रस्ताव रहेको छ।

सभाले चालू आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले मंसिर २२ गते शेयर दाखिला खारेज किताब बन्द गर्ने भएको छ। त्यसअनुसार मंसिर २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई शेयर रजिस्ट्रार एनएमबि क्यापिटल लिमिटेडमा शेयर नामसारी गराएका शेयरधनीले साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार