एजेन्सी । बलिउड चलचित्र उद्योगका बादशाह अभिताव बच्चनको परिवार अहिले कोरोना संक्रमणमा परेको छ । अमितावकी श्रीमती जया बच्चनबाहेक परिवारका चारै जनालाई कोरोना संक्रमण देखिएको छ । मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चन उपचाररत छन् । अभिनेता अमिताभ र उनका छोरा अभिषेकलाई शनिबार राति कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि दुवैजना नानावटी अस्पतालको आइसोलेशनमा राखिएको हो । अस्पतालबाट उनले एक भिडियो सन्देश जारी गर्दै डाक्टर तथा नर्सहरुको सेवाप्रति नतमस्तक रहेको बताएका छन् । उनको भिडियो सन्देशमा कोरोना भाइरस विरुद्ध अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई इश्वरको उपमा दिएका छन् । ‘हालै मैले ट्वीटरमा एक पोस्ट हेरेको थिएँ । त्यहाँ सुरतको एक बिलबोर्डको तस्बिर थियो, जसमा लेखिएको थियो–तपाईँलाई थाहा छ अहिले मन्दिर किन बन्द छन् । किनकि भगवान अचेल सेतो कोट लगाएर अस्पतालमा काम गरिरहेका छन्’ उनले भिडियो सन्देशमा भनेका छन् । अहिलेको समय केही कठिन र असहज रहे पनि संयुक्त प्रयासले यो अप्ठ्यारोलाई जित्न सकिने भन्दै उनले सबैसँग सचेत र आशावादी रहन आग्रह गरेका छन् । सबै एक भएर काम गरेमा चाँडै अहिलेको कठिन परिवेशबाट बाहिर आउन सकिने उनले उल्लेख गरेका छन् ।
ऐश्वर्या र आराध्यालाई पनि कोरोना संक्रमण
अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएपछि उनको परिवारको पनि कोरोना परिक्षण गरिएको थियो । पहिलो पटक गरिएको परिक्षणमा नायिका ऐश्वर्या राय बच्चन, उनकी छोरी आराध्या बच्चन र कलाकार जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो । तर, दोश्रो पटक गरिएको परिक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट पोजिटिभ आएको छ । योसँगै होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिनेछ । कलाकार जया बच्चन भने होम क्वारेन्टाइनमा नै रहनेछिन् । आज बिहान गरिएको एन्टिजन टेष्टमा उनीहरुको रिपोर्ट नेगिटिभ आएको थियो । दुबैमा सामान्य लक्षण रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । नायक अभिषेक बच्चनले यो परिस्थितीमा नआत्तिन सबैसँग अपिल गरेका छन् ।