एजेन्सी । अफ्रिकामा अबको ३ देखि ६ महिनाभित्र कोरोना भाइरस संक्रमितको संख्या एक करोड पुग्नसक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दिएको छ । डब्ल्यूएचओ अफ्रिकाका इमर्जेन्सी अपरेसन प्रमुख मिचेल याओले अहिलेको अवस्थालाई हेरेर यो संख्या आंकलन गरिएको बताएका छन् । तर यो संख्यामा केही परिवर्तन हुनसक्ने पनि उनले भनेका छन् । स्मरणीय छ यसअघि अफ्रिकामा इबोलाको महामारी फैलिँदा डब्ल्यूएचओले गरेको अनुमान भने मिलेको थिएन । त्यतिबेला मानिसहरुले आफ्नो बानीमा परिवर्तन गरेको कारण सबैभन्दा खराब अवस्था आउनबाट बचेको भन्दै याओले अहिले पनि त्यो अवसर रहेको बताएका छन् । अहिलेसम्म अफ्रिकामा १७ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने करिब नौ सय मानिसको मृत्यु भएको छ । अन्य क्षेत्रको तुलनामा यो केही कम हो । तर, अफ्रिकाको कमजोर स्वास्थ्य सेवाको कारण यो भाइरसको संक्रमण केही दिनमै ह्वात्तै बढ्नसक्ने आशंका छ ।