free website hit counter

डा. गोविन्द केसीको अवस्था जटिल, उपचारका लागि काठमाडौं ल्याउने तयारी

beemaadmin
२०८३ कार्तिक १७, सोमबार

इलाम । इलाममा अनशनरत प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ।

उनलाई लिन नेपाली सेनाको हेलिकप्टर इलाम आउँदै गरेको इलाम अस्पतालले जनाएको छ।

Advertisement
Advertisement

चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २५औँ पटक सत्याग्रहमा बसेका केसीको रगतमा चिनीको मात्रा अत्यधिक घटेपछि अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था जोखिमपूर्ण रहेको बताएका छन्।

Advertisement
Advertisement

इलाम अस्पतालले आइतबार सार्वजनिक गरेको स्वास्थ्य विवरणअनुसार केसीलाई शनिबार राति करिब ८ बजे उपचारका लागि भर्ना गरिएको थियो। टाइप–२ मधुमेहका बिरामी रहेका उनको रगतमा ग्लुकोजको मात्रा खतरनाक स्तरसम्म घटेको पाइएको छ। त्यस्तै, पिसाबमा एसिटोनको मात्रा पनि बढेको अस्पतालले जनाएको छ।

अस्पतालमा गरिएको परीक्षणमा उनको रगतमा ग्लुकोजको मात्रा क्रमशः ६७, ६७, ४७ र ३६ मिलिग्राम प्रतिडेसिलिटर मापन भएको थियो। चिकित्सकीय भाषामा यस्तो अवस्थालाई गम्भीर हाइपोग्लाइसेमिया भनिन्छ।

अस्पतालका अनुसार केसीको रक्तचाप १००/६० एमएमएचजी रहेको छ। नाडीको गति प्रतिमिनेट ८० देखि १०८ सम्म र रगतमा अक्सिजनको मात्रा ९२ देखि ९६ प्रतिशत रहेको छ।

त्यस्तै, ईसीजी परीक्षणमा कहिलेकाहीँ भेन्ट्रिकुलर प्रिम्याच्योर कम्प्लेक्स (भीपीसी) देखिएको अस्पतालले जनाएको छ।

स्वास्थ्य अवस्था थप बिग्रिन सक्ने र जीवनसमेत जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै इलाम अस्पतालले आवश्यक उपचार तथा थप व्यवस्थापनका लागि कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयसँग सहयोग मागेको थियो। अवस्था जटिल बनेपछि उनलाई काठमाडौं लैजाने तयारी गरिएको हो।

सम्बन्धित समाचार