काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ ठगी, फिसिङ तथा स्क्यामबाट ग्राहकको निक्षेप सुरक्षित राख्न मोबाइल एपमा लगइन नगरी नै केही सेकेन्डमै बैंक खाता ब्लक गर्न सकिने अत्याधुनिक सुरक्षा प्रणाली सञ्चालनमा ल्याएको छ।
अनलाइन ठगीका घटना बढ्दै गएपछि ग्राहकको रकम सुरक्षित राख्ने उद्देश्यले बैंकले यस्तो व्यवस्था लागू गरेको जनाएको छ।
बैंकका अनुसार कुनै पनि ग्राहकलाई वित्तीय ठगी, अनधिकृत पहुँच वा खाता ह्याक भएको आशंका लागेमा ‘ग्लोबल कनेक्ट’को आधिकारिक नम्बर ०१–५९७०६०० (विदेशबाट +९७७–१–५९७०६००) मा सम्पर्क गरेर मौखिक अनुरोधकै आधारमा तत्काल खाता ब्लक गर्न सकिनेछ।
त्यसैगरी, ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल बैंकिङ एप प्रयोग गर्ने ग्राहकले पनि लगइन नगरी नै खाता रोक्का गर्न सक्ने सुविधा पाउनेछन्। एप खोल्नेबित्तिकै माथिल्लो दायाँ कुनामा रहेको ‘कल’ आइकनमा क्लिक गरी ‘मिस्ड कल बैंकिङ’ अन्तर्गतको ‘अकाउन्ट ब्लक बाइ मिस्ड कल’ विकल्प छनोट गरेपछि खाता तत्काल ब्लक हुने बैंकले जनाएको छ।
बैंकका अनुसार यो व्यवस्थाले फिसिङ, स्क्याम तथा अन्य डिजिटल बैंकिङ अपराधबाट ग्राहकको निक्षेप जोगाउन प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यसैबीच, नेपाल राष्ट्र बैंकले पनि हालै सबै वाणिज्य बैंकलाई ग्राहकको मौखिक वा अनलाइन अनुरोधका आधारमा तत्काल खाता रोक्का गर्न सकिने व्यवस्था लागू गर्न निर्देशन दिएको छ। ग्लोबल आइएमई बैंकले उक्त व्यवस्थालाई कार्यान्वयन गर्दै ग्राहक सुरक्षामा नयाँ प्रविधि प्रयोगमा ल्याएको जनाएको छ।
ग्लोबल आइएमई बैंकले पछिल्ला वर्षहरूमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट बैंकिङ सेवा, डिजिटल नवप्रवर्तन तथा ग्राहक सेवाका क्षेत्रमा विभिन्न सम्मान र अवार्ड प्राप्त गर्दै आएको छ। हाल बैंकले देशका ७७ वटै जिल्लामा ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ। साथै, विभिन्न मुलुकबाट सुरक्षित रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ।