काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ४२ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ। अर्थ मन्त्रालयका अनुसार साउनदेखि असोज मसान्तसम्म सरकारले कुल ४२ अर्ब ३२ करोड ५१ लाख ९२ हजार रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको हो।
प्राप्त वैदेशिक सहायतामध्ये अधिकांश हिस्सा ऋण रहेको छ। तीन महिनाको अवधिमा सरकारले ३४ अर्ब ३४ करोड दुई लाख रुपैयाँ ऋण प्राप्त गर्दा अनुदानतर्फ सात अर्ब ९८ करोड ४९ लाख रुपैयाँ प्राप्त गरेको छ।
यसअनुसार कुल वैदेशिक सहायतामा ऋणको हिस्सा करिब ८१ प्रतिशत र अनुदानको हिस्सा करिब १९ प्रतिशत रहेको छ। यसले विकास तथा पूर्वाधार निर्माणका लागि नेपालले अनुदानभन्दा ऋणमा बढी निर्भर रहनुपरेको देखाउँछ।
सरकारले चालु आर्थिक वर्षमा कुल तीन खर्ब नौ अर्ब दुई करोड ६१ लाख रुपैयाँ वैदेशिक सहायता प्राप्त गर्ने लक्ष्य राखेको छ। उक्त लक्ष्यमा दुई खर्ब ४७ अर्ब २८ करोड सात लाख रुपैयाँ ऋण र ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ अनुदान समावेश छ।
तर आर्थिक वर्षको पहिलो तीन महिनामा वार्षिक लक्ष्यको १३.६९ प्रतिशत मात्रै वैदेशिक सहायता प्राप्त भएको छ। बाँकी अवधिमा लक्ष्यअनुसार सहायता प्राप्त गर्न सरकारले वैदेशिक सहयोग परिचालनलाई तीव्रता दिनुपर्ने देखिन्छ।
यसैबीच, वैदेशिक सहायता प्राप्तिको तुलनामा सहायता प्रतिबद्धता भने निकै न्यून देखिएको छ। अर्थ मन्त्रालयका अनुसार साउनदेखि असोज मसान्तसम्म सरकारले जम्मा ६ अर्ब ८७ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ।
महिनागत रूपमा हेर्दा साउनमा दुई अर्ब २० करोड ३८ लाख रुपैयाँ, भदौमा एक अर्ब ९३ करोड ७३ लाख रुपैयाँ र असोजमा दुई अर्ब ८७ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ।
वैदेशिक सहायता प्रतिबद्धता र वास्तविक प्राप्तिबीच देखिएको अन्तरले सहायता परिचालन तथा कार्यान्वयन प्रक्रियामा चुनौती रहेको संकेत गर्छ। सरकारले प्रतिबद्धतामा सीमित नराखी वैदेशिक स्रोतलाई प्रभावकारी रूपमा उपयोग गर्न सके मात्रै विकास खर्च र पूर्वाधार निर्माणमा अपेक्षित उपलब्धि हासिल गर्न सक्नेछ।