काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दश महिनामा नेपालमा १६ हजार ३९२ थान विद्युतीय सवारीसाधन (इभी) आयात भएका छन्। भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार साउनदेखि वैशाख मसान्तसम्म उक्त संख्यामा इभी नेपाल भित्रिएका हुन्।
तथ्यांकअनुसार, आयात भएका इभीमध्ये तीन पाङ्ग्रे विद्युतीय सवारीको संख्या सबैभन्दा बढी रहेको छ। समीक्षा अवधिमा मात्रै ७ हजार ७८५ थान तीनपाङ्ग्रे इभी नेपाल भित्रिएका छन्।
यस्तै, ५० किलोवाटसम्म क्षमताका २ हजार ८४८ थान विद्युतीय कार, जीप तथा भ्यान आयात भएका छन् भने ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका ५ हजार २५ थान सवारी नेपाल भित्रिएका छन्। त्यस्तै, १०१ देखि २०० किलोवाट क्षमताका ७२३ थान र २०१ किलोवाटभन्दा माथिका ९ थान विद्युतीय सवारी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। साथै, ५० किलोवाटसम्म क्षमताका एसेम्बल हुन बाँकी दुई थान सवारी पनि आयात भएका छन्।
दश महिनाको अवधिमा आयात गरिएका यी विद्युतीय सवारी खरिद गर्न नेपालबाट कुल २१ अर्ब २२ करोड रुपैयाँ बाहिरिएको छ। आयात रकमका आधारमा हेर्दा ५१ देखि १०० किलोवाट क्षमताका कार, जीप र भ्यानमा सबैभन्दा धेरै खर्च भएको देखिन्छ। उक्त समूहका सवारी आयात गर्न मात्रै १३ अर्ब २ करोड रुपैयाँ खर्च भएको छ।
त्यस्तै, ५० किलोवाटसम्म क्षमताका विद्युतीय कार, जीप तथा भ्यान आयातमा करिब ५ अर्ब रुपैयाँ खर्च भएको छ भने १०१ देखि २०० किलोवाट क्षमताका सवारी आयात गर्दा २ अर्ब २३ करोड रुपैयाँ विदेशिएको छ।
विद्युतीय सवारीको आयातसँगै सरकारको राजस्व संकलन पनि उल्लेख्य देखिएको छ। भन्सार विभागका अनुसार समीक्षा अवधिमा आयात गरिएका विद्युतीय कार, जीप र भ्यानबाट मात्रै सरकारले १२ अर्ब ७३ करोड रुपैयाँ राजस्व उठाएको छ।
पछिल्ला वर्षहरूमा इन्धनमा निर्भरता घटाउने र वातावरणमैत्री यातायातको प्रयोग बढाउने सरकारी नीतिसँगै नेपालमा विद्युतीय सवारीप्रति आकर्षण तीव्र रूपमा बढ्दै गएको देखिन्छ। त्यसकै परिणामस्वरूप इभी आयातले नयाँ रेकर्ड कायम गरिरहेको छ।
