काठमाडौँ । युरोपेली मुलुक पोल्यान्डमा दसैँको टीकाका दिन एक नेपाली श्रमिकको असामयिक निधन भएको छ। रोजगारीको सिलसिलामा पोल्यान्डमा रहनुभएका मोरङ जिल्लाको उर्लाबारी, स्कुलडाँडा निवासी ५० वर्षीय दोर्णप्रसाद गौतमको बुधबार निधन भएको हो।
गौतमको निधन सुतेकै अवस्थामा भएको उहाँका भानिज-ज्वाइँ (साथैमा काम गर्ने मोरङ रङ्गेलीका) राजेश अधिकारीले पुष्टि गर्नुभएको छ। मृतक गौतम र अधिकारी सन् २०२३ अक्टोबर २ मा रोजगारीका लागि एकैदिन पोल्यान्ड पुग्नुभएको थियो।
गौतम पोल्यान्डको राजधानी वारसाबाट करिब २९ किलोमिटर दूरीमा रहेको कार्चेव सहरस्थित ‘सुपरड्रप’ नामक मासु प्रशोधन तथा उत्पादन कम्पनीमा सोलानो एजेन्सीमार्फत कार्यरत हुनुहुन्थ्यो।
विजया दशमी (टीकाको दिन) कम्पनीले बिदा दिएकाले सबै साथीभाइ मिलेर दसैँको खुसी साटासाट गरेका थिए। सोही क्रममा साँझ करिब ६ बजेतिर गौतम “एकछिन सुत्छु” भनी आफ्नो कोठातर्फ लाग्नुभएको थियो। पछि साढे ८ बजेतिर बोलाउन जाँदा उहाँ अचेत र शरीर चिसो भइसकेको अवस्थामा भेटिनुभएको थियो।
तत्कालै प्रहरी तथा एम्बुलेन्स बोलाइए पनि चिकित्सकले उहाँको निधन भइसकेको घोषणा गरेका थिए। प्रहरीले कानुनी मुचुल्का तयार गरी शव अनुसन्धान तथा परीक्षणका लागि लगेको छ। चिकित्सकले मृत्युको आधिकारिक कारण खुलाउन बाँकी रहे पनि हृदयघातका कारण निधन भएको हुनसक्ने अनुमान गरिएको छ।
मृतक गौतमको शव हाल स्थानीय ओतोकोस्थित जेनेरल अस्पतालमा राखिएको छ।
यस दुःखद घटनाबारे पोल्यान्डसमेत कार्यक्षेत्र रहेको जर्मनीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत नारायणप्रसाद वाग्लेले शोक व्यक्त गर्दै मृतक गौतमको शव यथाशीघ्र नेपाल पठाउनका लागि आवश्यक कूटनीतिक तथा कानुनी प्रक्रिया तत्काल अघि बढाइने जानकारी दिनुभएको छ।
उता, घरको मुख्य अभिभावकको असामयिक निधनको खबरले नेपालमा रहनुभएकी मृतककी धर्मपत्नी पुष्पा गौतम भावविह्वल हुनुभएको छ। उहाँले आफ्ना श्रीमान्को पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि चाँडोभन्दा चाँडो स्वदेश ल्याइदिन सरकार, दूतावास तथा सम्बन्धित सबै निकायसमक्ष अनुनय-विनय गर्नुभएको छ।