काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसेनले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरेको हो । पुस २८ गते बैंकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रमका बीच बैंक संचालक, मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सहयोगी विकास बैंका संचालक, मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गरेका छन् ।
दुवै बैंकले आ–आफ्नो विशेष–वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गर्नेछन् । दुवै बैंकले गत असार २२ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए । सहमति अनुसार, सहयोगी विकाश बैंक लिमिटेडका शेयरधनीहरुले १०० कित्ता शेयर वरावर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९१.७५ कित्ता शेयर पाउनेछन् ।
हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ । धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको सहयोगी विकास बैंकले १४ वटा शाखाहरूबाट बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ । यी तीन जिल्लामा हाल सिटिजन्स बैंकको ९ वटा शाखाहरू संचालनमा रहेकोमा यस बैंकको प्राप्तिसँगै २३ वटा शाखाहरू संचालनमा आउने छन् जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।