free website hit counter

निर्धन उत्थान लघुवित्तको नाफामा उच्च गिरावट

beemaadmin
२०८३ बैशाख २७, आईतवार

काठमाडाैं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार लघुवित्तको खुद नाफामा ६७.७५ प्रतिशतको ठूलो गिरावट देखिएको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनासम्म ४८ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको संस्थाले चालु आर्थिक वर्षको सोही अवधिमा भने १५ करोड ५० लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ।

विवरणअनुसार संस्थाका अधिकांश प्रमुख वित्तीय सूचकहरू कमजोर बनेका छन्। विशेषगरी खराब कर्जामा भएको तीव्र वृद्धिले संस्थाको वित्तीय अवस्थामाथि दबाब सिर्जना गरेको देखिन्छ।

लघुवित्तको खराब कर्जा अनुपात ८.०९ प्रतिशतबाट बढेर १३.९९ प्रतिशत पुगेको छ। माइक्रोफाइनान्स क्षेत्रमा यस्तो स्तरलाई उच्च जोखिमपूर्ण मानिन्छ। ऋणीहरूले समयमा किस्ता भुक्तानी गर्न नसक्दा असुली प्रक्रिया प्रभावित भएको देखिन्छ।

खराब कर्जा बढेसँगै सम्भावित जोखिम व्यवस्थापनका लागि संस्थाले ५३ करोड ८० लाख रुपैयाँ प्रोभिजनिङ गर्नुपरेको छ। यसले सञ्चालन मुनाफामा प्रत्यक्ष असर परेको हो।

बजारमा देखिएको आर्थिक मन्दी, ऋणीहरूको कमजोर भुक्तानी क्षमता तथा सञ्चालन खर्च बढ्दा ब्याज आम्दानी र खर्चबीचको सन्तुलन बिग्रिएको देखिन्छ।

लघुवित्तको प्रतिशेयर आम्दानी (EPS) घटेर ७ रुपैयाँ ५४ पैसामा सीमित भएको छ, जसलाई लगानीकर्ताका लागि सकारात्मक संकेत मानिएको छैन। यसले आगामी वर्षको लाभांश वितरणमा समेत असर पर्ने सम्भावना देखिन्छ।

यद्यपि, संस्थाको प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ४३ पैसा रहेको तथा जगेडा कोष अझै मजबुत रहेकाले तत्काल संस्थाको स्थायित्वमा ठूलो जोखिम देखिँदैन।

सम्बन्धित समाचार