free website hit counter

निष्क्रिय बैंक खाता घटाउन राष्ट्र बैंकको नयाँ निर्देशन

beemaadmin
२०८३ असार २७, शनिबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाताको संख्या घटाउन नयाँ निर्देशन जारी गरेको छ। केन्द्रीय बैंकले निष्क्रिय खाताको व्यवस्थापन, पुनःसक्रियता र वित्तीय अपराधको जोखिम न्यूनीकरणका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिएको हो।

नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले निष्क्रिय खाताको संख्या घटाउने कार्ययोजना तयार गरी २०८३ पुस मसान्तभित्र कार्यान्वयनमा ल्याउनुपर्नेछ।

राष्ट्र बैंकले सक्रिय खाता निष्क्रिय हुनुअघि नै ग्राहकलाई फोन, एसएमएस, इमेललगायतका माध्यमबाट नियमित जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ। त्यसैगरी, निष्क्रिय भइसकेका खाता पुनःसक्रिय बनाउन कम्तीमा प्रत्येक ६ महिनामा ग्राहकलाई सम्पर्क गरी अनुरोध गर्नुपर्ने र त्यसको अभिलेख राख्नुपर्ने निर्देशन दिइएको छ।

निर्देशनअनुसार ग्राहकले आफ्नो खाता देशभरका सम्बन्धित बैंकका जुनसुकै शाखा कार्यालय वा मोबाइल तथा वेब एपमार्फत सहज रूपमा बन्द गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेछ। ग्राहकले शाखामा उपस्थित भएर वा फोन, सन्देश अथवा इमेलमार्फत खाता बन्द गर्न अनुरोध गरेमा खातामा रहेको रकम ग्राहकले तोकेको अर्को बैंक वा वित्तीय संस्थाको खातामा स्थानान्तरण गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था गरिएको छ।

यसैगरी, ग्राहकले देशभरका जुनसुकै शाखाबाट आफ्नो निष्क्रिय खाता पुनःसक्रिय गर्न सक्ने व्यवस्था पनि बैंक तथा वित्तीय संस्थाले मिलाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले पुनःसक्रिय भएका निष्क्रिय खाताबाट हुन सक्ने अस्वाभाविक कारोबारको निगरानी गर्ने प्रणाली विकास गर्न पनि निर्देशन दिएको छ। साथै, निष्क्रिय खाताको दुरुपयोग, ‘मनी म्यूल’ कारोबार तथा अन्य वित्तीय अपराधका जोखिमबारे जनचेतना फैलाउन नियमित रूपमा सूचना तथा सचेतनामूलक सामग्री प्रकाशन र प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले मनी म्यूल गतिविधिको पहिचान र नियन्त्रणका लागि बैंक तथा वित्तीय संस्थाका कर्मचारीको क्षमता अभिवृद्धिमा समेत जोड दिएको छ।

सम्बन्धित समाचार