free website hit counter

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा घट्याे

beemaadmin
२०८३ बैशाख १५, मंगलवार

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा उल्लेखनीय गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा घटेको देखिएको हो।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा कमाएको ४ अर्ब ५४ करोड रुपैयाँको तुलनामा उल्लेखनीय रूपमा कम हो।

बैंकको नाफा घट्नुको मुख्य कारण खुद ब्याज आम्दानीमा आएको कमी हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेर ९ अर्ब ५७ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १० अर्ब ३१ करोड रुपैयाँ थियो।

यससँगै बैंकको सञ्चालन नाफा पनि घटेको छ। गत वर्ष चैत मसान्तसम्म ६ अर्ब ६१ करोड १४ लाख रुपैयाँ रहेको सञ्चालन नाफा घटेर यस वर्ष ४ अर्ब ७७ करोड ९६ लाख रुपैयाँमा झरेको छ।

हाल बैंकको वितरणयोग्य नाफा ३ अर्ब १० करोड ३० लाख रुपैयाँ रहेको छ। बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३७ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ।

यद्यपि, बैंकको खराब कर्जा (NPL) भने बढेको छ। गत वर्ष ६.०६ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ८.४१ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी (EPS) हाल १२.२९ रुपैयाँ पुगेको छ।

सम्बन्धित समाचार