काठमाडौं । नेपाल ट्रष्टको कार्यालय स्थापना भएदेखिनै भाडाबापत जम्मा भएको ७५ करोड रुपैयाँ कोषकै खातामा थन्किन पुगेको छ । ट्रष्ट कार्यालयका सहसचिव राजेश्वर ज्ञवालीका अनुसार कोषमा जम्मा भएको रकम शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा लगानी गर्न सकिने प्रावधान छ । तर अहिलेसम्म ती क्षेत्रमा एक रुपैयाँ पनि लगानी भएको छैन । कोष चलाउन कार्यविधि पूर्ण नभएका कारण कुनै पनि कोषका प्रमुखले सो रकम खर्च गर्न हिचकिचाउने गरेका छन् । नेपाल ट्रष्टको मातहतमा रहेका जग्गाहरु विभिन्न संघसंस्था र व्यक्तिलाई भाडामा लगाएर कार्यालयले कोषमा रकम जम्मा गर्दै आएको छ । भाडा बापतको शतप्रतिशत रकम कोषमा जम्मा हुने व्यवस्थाका कारण ठूलो रकम जम्मा भइसक्दा पनि खर्च भएको छैन ।