काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले इच्छुक तथा योग्य व्यक्तिबाट आवेदन माग गरेको छ। समितिले मंगलबार सूचना प्रकाशित गर्दै अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो।
सूचनाअनुसार बीमा ऐन, २०७९ को दफा ८(१) बमोजिम बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ। साथै सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव आवश्यक रहनेछ।
उम्मेदवार उच्च नैतिक चरित्र भएको तथा बीमा ऐन, २०७९ को दफा ८(३) अनुसार अयोग्य घोषित नभएको हुनुपर्ने व्यवस्था छ। त्यस्तै, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ अनुसार न्यूनतम ३० वर्ष उमेर पूरा गरी ६५ वर्ष ननाघेको हुनुपर्नेछ।
आवेदक भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी अपराध तथा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएको हुनुपर्नेछ। यदि कुनै समय कालोसूचीमा परेको भए त्यसबाट फुकुवा भएको कम्तीमा तीन वर्ष पूरा भएको हुनुपर्नेछ।
यसबाहेक विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) नलिएको, सार्वजनिक निकायसँग ठेक्का–पट्टा सम्झौता गरी कार्यरत नरहेको तथा मानसिक रूपमा स्वस्थ रहेको व्यक्ति मात्र आवेदनका लागि योग्य हुने समितिले जनाएको छ।
योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित आगामी जेठ १९ गते कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारस्थित समितिको सचिवालयमा व्यक्तिगत विवरणसहित आवेदन पेश गर्न सक्नेछन्।