free website hit counter

नेरुडे लघुवित्तको नाफा ४४ प्रतिशत घट्यो

beemaadmin
२०८० कार्तिक २४, शुक्रबार

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकहरु गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेका छन्। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.९४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.३५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी १७.१९ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी ४.५५ प्रतिशत र सञ्चालन मुनाफा ४९.१७ प्रतिशत घटेको छ। असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५१ लाख ९३ हजार रुपैयाँ रहेको छ। लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.९३ प्रतिशतबाट बढेर ५.५२ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले इम्पेरमेन्ट चार्जबापत २ करोड ५१ लाख रुपैयाँ छुट्याएको छ। जसका कारण खुद ब्याज आम्दानीको गिरावटदरको तुलनामा सञ्चालन मुनाफाको गिरावटदर धेरै हुन पुगेको हो। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १२ रुपैयाँ २४ पैसा घटेर १० रुपैयाँ ४१ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५३.८१ गुणा रहेको छ। ७३ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५९ करोड १३ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ३.८० प्रतिशत बढेको हो। असोज मसान्तसम्ममा लघुवित्तले ९ अर्ब १२ करोड १४ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट १० अर्ब ६३ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

सम्बन्धित समाचार