काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटमा रहेका नौ वटा जलविद्युत् आयोजनामा कार्यरत ५३७ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार बाढीपछि ती आयोजनामा कार्यरत कुल ८९८ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये ३६१ जनाको उद्धार भइसकेको छ भने बाँकी ५३७ जनाको अवस्था अझै अज्ञात छ।
इप्पानका अनुसार २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ५७६ जना बाढीपछि सम्पर्कविहीन भएका थिए। तीमध्ये २५४ जनाको उद्धार भइसकेको छ। आयोजनाको सुरुङभित्र अझै करिब ३०० जना श्रमिक तथा कर्मचारी फसेको बताइएको छ। उनीहरूको खोज तथा उद्धारका लागि सुरुङमार्गमा निरन्तर प्रयास भइरहेको छ।
त्यस्तै, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना सम्पर्कविहीन छन्। रसुवा भोटेकोशी जलविद्युत् आयोजनाबाट चार जना र लाङटाङ खोला जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएको इप्पानले जनाएको छ। लाङटाङ खोलाबाट सम्पर्कविहीन भएकामध्ये १८ जनाको उद्धार भइसकेको छ।
चिलिमे जलविद्युत् आयोजनाबाट आठ जना, मैलुङ खोला जलविद्युत् आयोजनाबाट सात जना, त्रिशूली जलविद्युत् आयोजनाबाट एक जना, देवीघाट जलविद्युत् आयोजनाबाट एक जना तथा माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन छन्।
यस्तै, माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाबाट १२२ जना सम्पर्कविहीन भएकामा ९१ जनाको जीवितै उद्धार गरिएको छ। मिडल त्रिशूली गङ्गा जलविद्युत् आयोजनाबाट दुई जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
बाढीका कारण आयोजनाका संरचना तथा पहुँचमार्गमा समेत ठूलो क्षति पुगेकाले सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोज तथा उद्धारमा कठिनाइ भइरहेको छ। सुरुङभित्र फसेकाहरूको उद्धारलाई प्राथमिकतामा राखेर नेपाली सेना, सुरक्षा निकाय तथा सम्बन्धित आयोजनाका प्राविधिक टोली परिचालन भएका छन्।