काठमाडौं । मृत्यु भएको ठानेर अन्त्येष्टि गरिएका मोरङको लेटाङ नगरपालिका–५ का ३७ वर्षीय पदमबहादुर राय आठ महिनापछि जीवितै घर फर्किएपछि प्रहरीले पुरानो दुर्घटनाको फाइल पुनः खोलेर अनुसन्धान अघि बढाएको छ । उनको मृत्यु भएको ठानेर परिवारले अन्त्येष्टि गर्नुका साथै दुर्घटना बीमाबापत पाँच लाख रुपैयाँभन्दा बढी रकमसमेत लिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार घटना सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा भएको सवारी दुर्घटनासँग सम्बन्धित छ ।
गत जेठ २६ गते मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका थिए । उपचारका क्रममा जेठ २७ गते उनको मृत्यु भएको थियो । मृतकको पहिचान खुल्न नसकेपछि शव कोशी अस्पतालको शवगृहमा राखिएको थियो । प्रहरीले आफन्तलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेपछि अस्पताल पुगेकी पदमबहादुरकी आमाले शव आफ्नै छोराको भएको भन्दै सनाखत गरेकी थिइन् ।
आमाले गरेको सनाखतका आधारमा प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाएको थियो । त्यसपछि परिवारले जेठ २७ गते नै उनको अन्त्येष्टि गरेको थियो ।
तर, मृत्यु भएको ठानिएका पदमबहादुर जीवितै घर फर्किएपछि घटनाले नयाँ मोड लिएको छ । प्रहरीले अहिले शवको वास्तविक पहिचान, सनाखत प्रक्रियामा भएको सम्भावित त्रुटि र बीमा रकम भुक्तानीसम्बन्धी विषयमा अनुसन्धान गरिरहेको छ ।
प्रवक्ता खड्काका अनुसार घटनासँग सम्बन्धित परिवारका सदस्य प्रहरी कार्यालयमा आएका छन् । पुरानो अनुसन्धान मिसिल महेन्द्रनगरबाट मगाउने प्रक्रिया अघि बढाइएको उनले बताए ।
‘यो विरलै हुने नयाँ प्रकृतिको घटना हो । हामीले कानुनी परामर्श पनि गरिरहेका छौँ,’ खड्काले बताए ।
उनका अनुसार बीमा तथा अन्त्येष्टि संस्कारमा भएको खर्चबापत प्राप्त रकम फिर्ता गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले कानुनी परामर्श भइरहेको छ । यद्यपि, परिवारले बीमाबापत वास्तवमा कति रकम प्राप्त गरेको थियो भन्ने विषय पुरानो मिसिल प्राप्त भएपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ ।
घटनामा मृत्यु भएका वास्तविक व्यक्तिको पहिचान खुलाउन र यसअघि गरिएको सनाखतको प्रक्रिया स्पष्ट पार्न प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।