free website hit counter

पहिरोमा ४ जनाको मृत्यु, ७ जना बेपत्ता

beemaadmin
२०७७ असार २६, शुक्रबार

काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी पहिरोका समाचार आउन थालेका छन् । अविरल वर्षापछिको पहिरोले पुरिएर पोखरामा ४ जनाको मृत्यु भएको छ । गएराति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । थापाको घरमा विहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको उनले बताए । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । यस्तै पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा अन्य मानवीय क्षति नभएपनि तीन वटा बाख्रा पुरिएका छन् । पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् ।
यता पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा सात जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका उनले बताए । घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो । चार घर विस्थापित भएका छन् । यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए । घरका मानिसले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा एक जना घाइते भएका छन् ।

सम्बन्धित समाचार