काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमै वाणिज्य बैंकहरूले पौने ९ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। २० वाणिज्य बैंकले साउनमा कुल ८ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका हुन्।
गत आर्थिक वर्ष २०८२/८३ को साउनमा वाणिज्य बैंकहरूले ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए। यस वर्षको साउनमा बैंकहरूको कुल नाफा गत वर्षको सोही अवधिको तुलनामा ४ दशमलव २३ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये १३ वटाको नाफा बढेको छ भने ७ बैंकको नाफा घटेको छ।
साउनमा सबैभन्दा धेरै खुद नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ। बैंकले ८८ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको साउनमा बैंकको नाफा ७१ करोड ६४ लाख रुपैयाँ थियो। यसअनुसार नबिलको नाफा २३ दशमलव २८ प्रतिशतले बढेको हो।
दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ८१ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष साउनमा बैंकले ७८ करोड ४५ लाख रुपैयाँ कमाएको थियो। बैंकको नाफा ३ दशमलव ७० प्रतिशतले बढेको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ७३ करोड ४४ लाख रुपैयाँ खुद नाफासहित तेस्रो स्थानमा छ। गत वर्षको साउनमा ६३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको बैंकको नाफा यसपटक १५ दशमलव ८० प्रतिशतले बढेको हो।
कुमारी बैंकले ५४ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको ४९ करोड २४ लाख रुपैयाँको तुलनामा बैंकको नाफा ११ दशमलव १० प्रतिशतले बढेको हो।
राष्ट्रिय वाणिज्य बैंकले ५२ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ। भने गत वर्षको ५५ करोड ८३ लाख रुपैयाँको तुलनामा बैंकको नाफा ६ दशमलव १५ प्रतिशतले घटेको छ।
प्राइम बैंकले साउनमा ५२ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको ५० करोड ५० लाख रुपैयाँको तुलनामा बैंकको नाफा ३ दशमलव ३४ प्रतिशतले बढेको हो।
लक्ष्मी सनराइज बैंकले ४९ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको ३९ करोड ४५ लाख रुपैयाँको तुलनामा बैंकको नाफा २५ दशमलव ९३ प्रतिशतले बढेको छ।
एभरेस्ट बैंकले ४९ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष साउनमा ४८ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको बैंकको नाफा यसपटक १ दशमलव ७१ प्रतिशतले बढेको हो।
एनएमबी बैंकले ४७ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको ४६ करोड ६८ लाख रुपैयाँको तुलनामा बैंकको नाफा २ दशमलव ६३ प्रतिशतले बढेको छ।
सिद्धार्थ बैंकले ४२ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको ४० करोड १४ लाख रुपैयाँको तुलनामा बैंकको नाफा ७ दशमलव १ प्रतिशतले बढेको हो।
कृषि विकास बैंकले ३८ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष साउनमा बैंकको नाफा ३ लाख ७५ हजार रुपैयाँ मात्र रहेको थियो। न्यून आधारका कारण यसपटक बैंकको नाफा वृद्धिदर अत्यधिक देखिएको छ।
सानिमा बैंकले ३८ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको ३९ करोड ३ लाख रुपैयाँको तुलनामा बैंकको नाफा १ दशमलव ९१ प्रतिशतले घटेको हो।
प्रभु बैंकले ३२ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको ३० करोड २३ लाख रुपैयाँको तुलनामा बैंकको नाफा ८ दशमलव ९५ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा नेपाल एसबिआई बैंकको खुद नाफा सबैभन्दा कम रहेको छ। बैंकले साउनसम्म १७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
समग्रमा पहिलो महिनामै अधिकांश वाणिज्य बैंकको नाफा बढ्दा केही बैंकको भने गत वर्षको तुलनामा घटेको देखिएको छ।