काठमाडौं । प्रहरी संगठनविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गलत सूचना र सन्देश फैलिएको विषयमा प्रधानमन्त्री कार्यालयले चासो देखाएपछि केही पत्रकारलाई साइबर ब्युरोमा बोलाइएको नेपाल प्रहरीले जनाएको छ।
पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनाको चौतर्फी आलोचना भइरहेका बेला प्रहरीले राति विज्ञप्ति जारी गर्दै आफ्नो कदमको बचाउ गरेको हो।
शुक्रबार प्रहरीले नयाँ पत्रिका दैनिकको कार्यालयमा प्रवेश गरी पत्रकार नवराज मैनालीको खोजी गरेको थियो। मैनाली नभेटिएपछि प्रहरीले सम्पादक खगेन्द्र पन्तसँग करिब साढे दुई घण्टा विवाद गरेको थियो। त्यस्तै, अन्य सञ्चारमाध्यमका कार्यालयबाट केही पत्रकारलाई नियन्त्रणमा लिएर पछि रिहा गरिएको थियो।
घटनाबारे प्रधानमन्त्रीको सचिवालय र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनभिज्ञता जनाएका थिए। तर, प्रहरीले राति जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कार्यालयको चासोपछि आफूहरूले आवश्यक कदम चालेको उल्लेख गरेको छ।
प्रहरीका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रहरीविरुद्ध गलत समाचार तथा सन्देश निरन्तर फैलिरहेका छन्। यस्ता गतिविधिले प्रहरीको व्यावसायिक छवि, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धान प्रक्रियामा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको प्रहरीको दाबी छ।
सोही चासोलाई सम्बोधन गर्ने क्रममा साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएर प्रहरीविरुद्ध भइरहेका प्रचारको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिएको विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले सञ्चारकर्मीलाई कार्यालयमा बोलाउने कार्यलाई आफ्नो नियमित कार्यसम्पादनको हिस्सा भन्दै यसलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा नबुझ्न आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो।’
तर, पत्रकार पक्राउको आधार, उनीहरूमाथि लगाइएको आरोप र सञ्चारगृहमा प्रहरी प्रवेश गर्नुपर्नाको कारणबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन। घटनाले प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र प्रहरीको कार्यशैलीबारे थप प्रश्न उठाएको छ।