free website hit counter

प्रभु महालक्ष्मी लाइफले राहत काेषामा ५१ लाख सहयाेग गर्ने

beemaadmin
२०८३ भाद्र १२, शुक्रबार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति कम्पनीले दुःख व्यक्त गरेको छ।

बाढी तथा डुबानका कारण ठूलो संख्यामा नागरिक प्रभावित हुनुका साथै कैयौँको ज्यान गएको र केही बेपत्ता भएको कम्पनीले जनाएको छ। बस्ती तथा पूर्वाधारमा क्षति पुगेपछि धेरै परिवार विस्थापित हुनुपरेको अवस्थाप्रति कम्पनीले सहानुभूति व्यक्त गरेको छ।

विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि भइरहेका सरकारी तथा स्थानीय प्रयासमा ऐक्यबद्धता जनाउँदै कम्पनीले सहयोग रकम उपलब्ध गराउन लागेको जनाएको छ।

उक्त रकमबाट बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, खाद्यान्न वितरण, स्वास्थ्य उपचार तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

प्रभु महालक्ष्मी लाइफले स्थापनाकालदेखि नै प्राकृतिक विपद्, महामारी तथा विभिन्न संकटका समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको जनाएको छ। कम्पनीले ‘ढुकढुक होइन, ढुक्क होऔँ’ भन्ने मूल भावनाअनुरूप सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताएको छ।

कम्पनीले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता नागरिकको शीघ्र खोजी तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।

सम्बन्धित समाचार