काठमाडौं । स्थापनाको छोटो समयमै बजारमा आफ्नो सशक्त उपस्थिति जनाएको प्रभु लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा खुद बीमा शुल्क आर्जन १५५ प्रतिशतले बृद्धि भएको देखिएको छ भने जीवन बीमा कोष अर्बभन्दा माथि पुर्याउन सफल भएको देखिएको छ ।
कम्पनीले गत आवको वित्तीय विवरण अनुसार खुद जीवन बीमा शुल्क एक अर्ब १५ करोड ९४ लाख ३५ हजार ५७५ रुपैयाँ रहेको छ । अघिल्लो आवमा ४५ करोड ३५ लाख ७८ हजार ९३४ रुपैयाँ आर्जन गरेको कम्पनीले यस वर्ष उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको हो ।
त्यस्तै कम्पनीको जीवन बीमा कोष दुई गुणा भन्दा बढिले बृद्धि भएको छ । अघिल्लो आवमा ३४ करोड १३ लाख ६५ हजार २८१ रहेको कम्पनीको जीवन बीमा कोष यस वर्ष बृद्धि भएर एक अर्ब चार करोड ३६ लाख ७१२ रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले २०५।७१ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको जेगडा कोष र महाविपत्ति कोषको आकार समेत बृद्धि भएको छ । अघिल्लो वर्ष तीन वटै कोषको आकार जम्मा ४२ करोड ७४ लाख रहेकोमा समीक्षा अवधीमा एक अर्ब २० करोड भन्दा माथि पुर्याउन सफल भएको छ ।
त्यस्तै कम्पनीको अघिल्लो आवको मुनाफा तीन करोड ८१ लाख रुपैयाँ रहेकोमा गत आवमा कम्पनीको मुनाफा सामान्य बृद्धि भई ४ करोड ४४ लाख ९६ हजार ४४९ पुगेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कन पश्चात मात्रै निर्धारण हुने हुँदा हाल प्रक्षेपित मुनाफामा संशोधन हुनेछ ।
कम्पनीले समीक्षा अवधीमा ८० लाख पाँच हजार ४०४ रुपैयाँ दावी भुक्तानी गरेको छ ।