काठमाडौं । बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा योग्यता सम्बन्धी विवादमा परेको रिटमा सर्वोच्च अदालत प्रशासनले ६ महिनापछि पेसी तोकेको छ। आगामी मंसिर १ गतेलाई पेसी तोकिएको थाहा भएको छ । न्यायाधीशद्वय बालकृष्ण ढकाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले गत सोमबार दिएको आदेशमा निवेदकले उठाएका संवैधानिक एवं कानुनी प्रश्नहरूको निराकरण अन्तिम सुनुवाइ हुँदा हुने प्रकृतिको देखिएको उल्लेख छ। साथै सबै प्रत्यर्थीहरूको लिखित जवाफ समेत परिसकेको प्रस्तुत निवेदनमा चाँडो निर्णय गर्नुपर्ने अवस्था समेत देखिँदा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ अनुसार अग्राधिकार प्रदान गरी नियमानुसार पेस गर्नू, आदेशमा भनिएको छ। ओझालाई सरकारले गत फागुन १२ गते बिमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेको थियो। उनको योग्यतामा प्रश्न उठाउँदै नियुक्ति बदरको जिकिरसहित अधिवक्ता इन्दिरा धमलाले चैत १७ गते रिट दायर गरेकी थिइन्। त्यसमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको इजलासले ओझालाई नियुक्त गर्न लिइएका आधारसम्बन्धी कागजात झिकाउन आदेश दिएको थियो।