काठमाडौं । फ्रान्सबाट फर्केकी १९ वर्षे युवतीले कोरोनलाई पराजित गरी अस्पतालबाट घर फर्केकी छिन् । नेपालमा कोरोनालाई पराजित गरी घर फर्किने उनी दोस्रो संक्रमित हुन् । कोराना संक्रमण पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत ती युवती घर फर्किएकी हुन् ।
यसअघि चीनबाट आएका एक नेपालीमा कोरोना संक्रमण देखिएकोमा उपचारपछि घर फर्किएका थिए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित ३० जनामध्ये २ जना निको भएर घर फर्किएका छन् ।
उपचारपछि घर फर्किन सफल दोस्रो व्यक्ति बनेकी ती युवती चैत १० गतेदेखि टेकुमा उपचाररत थिइन् । फ्रान्सबाट आएकी ती १९ वर्षीय युवती चैत ४ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् । रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।