free website hit counter

बढ्दो सेयर बजारमा लगानी

beemaadmin
२०७७ फाल्गुन १, शनिबार

नेपाली सेयर बजारमा राम्रा उछाल पश्चात् केही करेक्सनहरू आउने क्रम जारी छ । व्याजदरमा आएको कमी, कोभिडको असर पूर्ण रुपमा समाप्त नभएको अवस्थामा अन्य व्यवसायिक सम्भावनाहरू कम हुनु र बजारमा नयाँ लगानीकर्ताको उल्लेख्य प्रवेशका कारण शेयरको माग बढनुले बजार उकालो लाग्न विशेष रुपमा मद्दत पुग्दै आएको छ ।

त्यसको अतिरिक्त नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड र बीमा समिति र सरोकारवाला मन्त्रालय अर्थ पनि सेयर बजारप्रति सकारात्मक रहेको र सुधारका विविधि कार्यक्रमहरू अघि बढाएको सन्दर्भले पनि बजार उकालो लाग्ने क्रम जारी नै छ । बजार लामो समयदेखि उकालो लागेको भए तापनि आगामी केही दिनमा निश्चित उचाइ हासिल गरे पश्चात् बजार केही महिना सामान्य करेक्सनमा जाने सम्भावनाहरूलाई धेरै प्राविधिक विश्लेषकहरूले औल्याएको देखिन्छ । जसको सम्भावना उच्च छ ।

Advertisement
Advertisement

बजार एकोहोरो रुपमा माथि मात्र जान्छ भन्ने कुरासँग सहमत हुन सकिदैन । तसर्थ बढेको बजारमा कसरी लगानी गर्ने ? केही करेक्सन आएको बेला कसरी बजारमा खरिद गरेर छिर्ने भन्ने कुरा अहिले निकै महत्वपूर्ण बनेको छ ।

Advertisement
Advertisement

आगामी तीन बर्ष नेपाली सेयर बजार केही करेक्सन सहित माथि जाने कुरा बजारको चक्रसँग सहमत हुनेले स्वीकारेको विषय हो । यस्तो अवस्थामा लामो समयका लागि लगानी गर्ने लगानीकर्ताले ढुक्क भएर राम्रो कम्पनीहरूमा लगानी गर्दा हुने देखिन्छ । राम्रो कम्पनी भन्नाले विगतका बर्षहरूमा राम्रो प्रतिफल दिदै आएको, हरेक समूहको लिडिङ कम्पनीहरू नै हुन । तर छोटो समयका लागि लगानी गर्ने र नाफा बुक गर्ने खालका लगानीकर्ता पनि ह्वात्तै बढेको अवस्था हो अहिले ।

अरुले कमाएको खबरको भरमा अनि प्राथमिक सेयरमा लगानी गर्दा सेयर परेर वा नपरेर अब दोस्रो बजारमा कारोबार गर्न उत्साहित लगानीकर्ताले भने कुनै पनि कम्पनीमा लगानी गर्दा अरुले भनेको वा बढ्छ भन्ने जस्ता कुराको पछि लाग्नु भन्दा पनि फन्डामेन्टल दरो भएको कम्पनीहरूमा लगानी गर्दा राम्रो हुन्छ । जसमा प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, आम्दानीमा बृद्धिको अवस्था, बैंक तथा वित्तीय सस्थाको हकमा निक्षेप तथा कर्जा लगानीमा बढोत्तरीको अवस्था, वितरण योग्य नाफा, खराब कर्जाको स्तर, रिजर्भ जस्ता कुराहरू हेर्नु राम्रो हुन्छ ।

त्यसैगरी बीमा कम्पनीहरूको हकमा बीमा लेख विक्रीमा भएको बृद्धि, बीमा कोष, आदि महत्वपूर्ण हुन्छ । विद्युत कम्पनीहरूको हकमा भने विद्युत विक्रीको अवस्था र बढोत्तरी, नाफा, रिजर्भ आदि महत्वपूर्ण कुराहरू हेरेर खरिद गर्नुपर्ने हुन्छ ।

तर बजारमा हाल चालु आर्थिक बर्षको दोस्रो त्रैमासको नतिजा आइसक्दा पनि फन्डामेन्टल अध्ययनको भरमा होइन, हल्लाको भरमा नै लगानी गर्ने लगानीकर्ताको जमात पनि निकै ठूलो पाइएको छ । जसको फाइदा बजारमा जानकार हुनेहरूले लिने गरेको अवस्था विद्यमान नै छ । उदाहरणका लागि नाफामा नरहेका वा घाटामा रहेका होटल समूहको सेयरको मूल्य पनि चर्को हुनु ।

जसमा सोल्टी होटल जस्तो अंकित सेयरका मूल्य दश रुपियाँको सेयरको बजार मूल्य २१० रुपियाँसम्म बिक्री भएको छ । ओरियन्टल होटलको ५२४ रुपियाँ देखिन्छ । जबकी सोल्टी होटल ११ करोड ५१ लाख रुपियाँ घाटामा छ । त्यसैगरी ओरियन्टल होटल र्याडिसन खुद घाटा १४ करोड रुापयाँ नाघिसकेको छ । हयात होटलको असोजसम्मको घाटा भने सात करोड ८९ लाख ८१ हजार रुपियाँ थियो भने नयाँ तथ्याङ्क सार्वजनिक गरेको छैन ।

बजारमा रसुवा गढी, साञ्जेन, माथिल्लो तामाकोसी, हिमालयन पावर पार्टनर जस्ता विद्युत उत्पादन नै नभएको निर्माणाधिन जलविद्युत कम्पनीहरूको सेयर मूल्य पनि चर्को नै देखिन्छ । जसले प्रतिफल कहिले दिने ? प्राथमिक सेयर जारी गर्दाको अवस्थामा विद्युत् उत्पादन भएर आम्दानी गर्ने मिति नाघिसकेको अवस्थाको त्यस्ता सेयरहरूको मूल्य निकै चर्को छ ।

लघुवित्त समूहका कतिपय कम्पनीहरूको सेयर मूल्य पनि आकासिएको छ । बीमा क्षेत्रको जीबन तथा निर्जिबन बीमा कम्पनीहरूको भने नाफामा उच्च सुधार देखिएको छ । तर नाफाको बृद्धिको अनुपातमा बजार भाउ कति ? सो भने मूल्याङ्कनकै विषय हो ।

अन्त्यमा आकासिदो सेयर बजारमा हल्लाको भरमा होइन बुझेर सेयर लगानी गर्दा फाइदा हुन्छ । अनि सेयरमा भएको नाफा घाटाको जिम्मेवारी पनि अरुको टाउकोमा थोपर्नु आवश्यक पर्दैन । तसर्थ सेयर खरिद गर्दा उचित अध्ययन गरेर मात्र लगानी गर्नु बुद्धिमानी ठहर्छ ।

सम्बन्धित समाचार