free website hit counter

बाढीपीडितका लागि नेपाल बैंकले दियो ३ करोड १ लाख

beemaadmin
२०८३ भाद्र १२, शुक्रबार

काठमाडौं । त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल बैंक लिमिटेडले ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ३ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरे।

चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री वाग्लेले प्राकृतिक विपत्तिको कठिन समयमा बाढीपीडितका लागि महत्वपूर्ण आर्थिक सहयोग उपलब्ध गराएकोमा नेपाल बैंक परिवारप्रति धन्यवाद व्यक्त गरे।

बैंक सञ्चालक समिति सदस्य लम्सालले महाभूकम्प, महामारी तथा अन्य राष्ट्रिय विपद्का समयमा बैंकले गर्दै आएको सहयोगकै निरन्तरताका रूपमा यसपटक पनि आर्थिक सहयोग उपलब्ध गराइएको बताए। उनले आगामी दिनमा समेत यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

बैंकले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

कार्यक्रममा बैंक सञ्चालक समिति सदस्य बद्री खनाल, प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का तथा सुशासन डिभिजन प्रमुख होमनाथ दाहालको उपस्थिति थियो।

सम्बन्धित समाचार