काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ।
बाढी तथा डुबानका कारण ठूलो संख्यामा नागरिकको ज्यान गएको, कैयौँ बेपत्ता भएको र बस्ती तथा पूर्वाधारमा व्यापक क्षति पुगेपछि सयौँ परिवार विस्थापित हुनुपरेको कम्पनीले जनाएको छ। प्रभावित परिवारप्रति कम्पनीले सहानुभूति व्यक्त गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गर्न लागिएको १ करोड रुपैयाँ नेपाल सरकारमार्फत उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका कार्यमा परिचालन गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सहयोग रकमले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, खाद्यान्न वितरण, स्वास्थ्य उपचार तथा पुनर्स्थापनाका काममा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आइएमई लाइफले स्थापनाकालदेखि नै प्राकृतिक विपद्, महामारी तथा राष्ट्रिय संकटका समयमा सहयोग गर्दै आएको उल्लेख गरेको छ।
कम्पनीले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता नागरिकको शीघ्र खोजी, घाइतेहरूको स्वास्थ्यलाभ तथा उद्धार र राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।