free website hit counter

बीमा कम्पनीहरुको दायित्व थपिएको थपियै

beemaadmin
२०८२ आश्विन २१, मंगलवार

काठमाडौं । यहि असोज १७ देखि १९ गतेसम्म आएको भारी वर्षाका कारण १० जिल्लामा ३२ जलविद्युत आयोजना प्रभावित भएको ऊर्जा उत्पादकहरुको सस्था इप्पानले जनाएको छ । आफूहरुले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत आयोजना बाढीबाट प्रभावित भएको उसको भनाई छ । यस क्षेत्रले निर्जीवन बीमा कम्पनीहरुको दायित्व फेरि बढेको छ । हालै जेन–जी आन्दोलनका क्रममा भएको क्षतिवापत २३ अर्बभन्दा बढीको बीमा दावी परेकोमा अब जलविद्युत्सहित अन्य क्षेत्रमा भएको क्षतिको समेत दावी पर्ने भएको छ । विगतका वर्षहरुमा बाढीको पूर्वसूचना प्राप्त नहुँदा तथा प्राप्त सूचनाप्रति पनि विश्वस्त नहुँदा ठूलो मानवीय क्षतिसमेत हुँदै आएकोमा यस वर्ष इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदान प्रदान गर्ने सम्झौता भई सोही अनुसार पूर्वसूचना प्रेसित गरी मानवीय क्षति रोक्न सफल भएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताएका छन् । समयमै आवश्यक पूर्वतयारी गर्दा यसपटक भारी वर्षाको तुलनामा जलविद्युत आयोजनाहरुमा निकै कम मात्र भौतिक क्षति भएको पनि उनको भनाई छ । सञ्चालनमा रहेका १७ मध्ये १५ आयोजना इलामका बाढी पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएका छन् । इलाममा मात्रै सञ्चालनमा आएका १५ वटा जलविद्युत आयोजनाहरुको उत्पादन बन्द भएको छ । यसमा ४।५ मेगावाटको माईखोला, ८ मेगावाटको माईखोला क्यासकेड, २२ मेगावाटको माईखोला (सानिमा माई), ७ मेगावाटको माई क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ए, ३ मेगावाटको सुपरमाई ए क्यासकेड, ७.६ मेगावाटको जोगमाई खोला, ५.२ मेगावाटको जोगमाई क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाई, ९.५ मेगावाटको माईबेनी, ९.९ मेगावाटको माथिल्लो माई, ५.१ मेगावाटको माई सी क्यासकेड, ४.९६ मेगावाटको पुवा २ र ३ मेगावाटको अपर पुवा १ जलविद्युत आयोजना इलाम जिल्लाका रहेका छन् । बाँकी दुई आयोजनामध्ये पाँचथर जिल्लामा रहेको १४.९ मेगावाटको हेवाखोला र ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजना प्रभावित भएका छन् । हाल लिखुबाहेक सबै आयोजनाको उत्पादन बन्द रहेको छ । लिखु ४ को भने १ घण्टाभन्दा केही बढी समय मात्र उत्पादन बन्द भएको थियो ।
निर्माणाधीन जलविद्युत आयोजनाहरुमा सबैभन्दा धेरै क्षति पहुँचमार्गमा देखिएको छ । मनाङमा रहेको ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत आयोजनाले बनाएको १२ किलोमिटर पहुँचसडकको धेरै ठाउँमा पहिरो गएको प्रवर्द्धक कम्पनी लालुपाते हाइड्रोपावरका सञ्चालक मोहनकुमार डाँगीले जानकारी दिएका छन् । यहि वर्षदेखि आयोजनाको निर्माण सुरु भएकाले पहुँच सडक सेट नभइसकेको अवस्थामा वर्षाले धेरै ठाउँमा बाटो बगाएको उनको भनाई छ । निर्माणाधीन अवस्थामा रहेका आयोजनामध्ये सिद्धि हाइड्रोपावरद्वारा प्रवर्द्धित इलाममा रहेको १० मेगावाटको सिद्धिखोला जलविद्युत आयोजना १० दिनभित्र व्यवसायिक उत्पादनमा जाने तयारीमा रहेकोमा बाढीले क्षति पुर्याउँदा यसको विद्युत उत्पादन मिति पर सरेको छ । पाँचथरमा रहेको २१.५ मेगावाटको सभाखोला बी र ९.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनाको निर्माण सामाग्री र निर्माण उपकरणहरु नै बगाएको छ । सिन्धुपाल्चोकमा रहेका ४ जलविद्युत आयोजनाको पहुँचमार्ग पनि बाढीले बगाएको छ । जसमा ३६.५१ मेगावाटको ब्रम्हायणी, १५.१५ मेगावाटको माथिल्लो ब्रम्हायणी, ४० मेगावाटको बलेफी र २२.५ मेगावाटको तल्लो बलेफी जलविद्युत आयोजनाको पहुँचमार्ग बाढीले बगाएको छ । रसुवामा रहेको २० मेगावाटको लाङटाङ खोला, भोजपुरमा रहेको १५.५ मेगावाटको इर्खुवा खोला बी, १४.५ मेगावाटको माथिल्लो इर्खुवा, म्याग्दीमा रहेको २२.५ मेगावाटको माथिल्लो ठूलो खोला, लमजुङमा रहेको ६.८२ मेगावाटको हिडी खोला, रामेछापमा रहेको ४८.८ मेगावाटको खिम्ति २ र धादिङमा रहेको ४.५ मेगावाटको गसाली खोला जलविद्युत आयोजनाको पहुँचमार्ग लगायतका विभिन्न संरचनामा क्षति पुगेका कारण यी आयोजनाको विद्युत उत्पादन मिति पर सरेको छ । सञ्चालनमा रहेका तथा निर्माणाधीन अवस्थाका आयोजनाहरुसम्म पुग्ने पहुँचमार्गहरु अवरुद्ध भएका कारण क्षतिको विस्तृत विवरण आउन भने अझै केही समय लाग्न सक्ने इप्पानले जनाएको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार