काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०७९ को प्रारम्भिक मस्यौदा तयार पारेको छ । नियमावली बनाउने काम प्राधिकरणको नभए पनि विषयवस्तुमा प्राधिकरणनै जानकार रहेको भन्दै मन्त्रालयले मस्यौदा तयार पार्ने जिम्मेवारी प्राधिकरणलाई नै दिएपछि प्राधिकरणले बीमा नियमावलीको मस्यौदा तयार पारेको हो । प्राधिकरणले प्रारम्भिक मस्यौदामा छलफलका लागि सम्पुर्ण बीमकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएको छ । सबैबाट छलफल भए पनि आवस्यक सुझावलाई समेत समावेश गरेर मन्त्रालयले बीमा नियमावली पारित गरि लागु गर्नेछ । बीमा नियमावली नआउँदा प्राधिकरणले आवस्यक निर्देशन र निर्देशिका बनाउन सकेको छैन । प्राधिकरणले यहि फागुन १९ गते शुक्रवार दिउँसो साढे २ बजे होटल क्राउन इम्पेरियलमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले असोज २३ गते नै बीमा ऐन २०७९ मा लालमोहर लगाइसकेकी छिन् । उनले लालमोहर लगाएको ३० दिन पछि अर्थात कार्तिक २२ गतेदेखि नै बीमा ऐन २०७९ लागु भइसकेको छ । यसरी बीमा ऐनमा लालमोहर लागेको ५ महिना पछि बल्ल बीमा नियमावली २०७९ तयार भएको छ । बीमा नियमावली बनाउन कानुन मन्त्रालयका सह सचिव शुसिल कोइरालाको संयोजकत्वमा असोज ३१ गते नै समिति तयार भएको थियो । तर यस अवधिमा निर्वाचन तथा सरकार परिवर्तनका कारण नियमावलीमा खासै काम हुन सकेन । जवकी प्राधिकरणले निर्चावन अगाडी नै नियमावलीको काम सक्ने योजना बनाएको थियो ।