काठमाडौं । दिग्गज र बीमा क्षेत्रका अनुभवीलाई पछि पार्दै नेपाल बीमा प्राधिकरणका अध्यक्षका रुपमा आश्चर्यजनक रुपमा मैदानमा आएका शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। झुटो कार्यानुभव पेस गरेर ओझा बीमा प्राधिकरणको अध्यक्ष बन्न सफल भएको दाबी गर्दै अख्तियारमा उजुरी परेको हो। सुशासनको न्यूनतम मापदण्डहरुको समेत बर्खिलाप हुने गरी पछिल्लोपटक बीमा प्राधिकरणमा ओझाले अध्यक्ष पदको नियुक्ति हात पार्न सफल भएको उजुरीमा उल्लेख छ। मन्त्रिपरिषदको २०८१ साल फागुन १२ गते बसेको बैठकले ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो। ओझाले नेपाल सरकारलाई ढाँटेर झुटो विवरण बुझाइ अध्यक्षमा नियुक्त भएको उजुरीमा दाबी गरिएको छ। ओझाले प्राधिकरणमा अध्यक्ष बन्न जुन–जुन निकायबाट अनुभवसम्बन्धी प्रमाणपत्र बुझाएका छन्, ती निकायहरुसँग अनुभवका आधारहरु माग गर्दा सत्यतथ्य छर्लंग हुने उजुरीमा दाबी गरिएको छ। बीमा ऐनले परिकल्पना गरेको बैंक, वित्त, बीमालगायतका क्षेत्रमा आवश्यक पर्ने अनुभव पनि उनीसँग नरहेको उजुरीमा उल्लेख छ। नेपाल सरकारलाई झुट्टा विवरण बुझाएर लाखौँ लाख बीमितले तिरेको करिब ७ खर्ब रुपैयाँको सदुपयोग गरी बीमितको हित र देश विकासमा योगदान दिनुपर्ने नियामक निकाय बीमा प्राधिकरणजस्तो निकायमा नियुक्त हुन सफल ओझामाथि छानबिन गरी तत्काल कारबाही गर्न उजुरीमार्फत अख्तियारसँग माग गरिएको छ।
को हुन् ओझा ?
पूर्वपत्रकार समेत रहेका ओझाको स्थायि घर कञ्चनपुर हो । उनी हाल ३३ वर्षका भए । ओझा नेपाली कांग्रेसको संस्थापन पक्ष निकट छन् । नवनियुक्त अध्यक्ष ओझाको पुर्ख्यौली डडेल्धुरास्थित कांग्रेस सभापति एवं पूर्वप्रधानमन्री शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरा भएपनि हाल उनी कञ्चनपुर बस्दै आएका छन् । देउवाकै जोडबलमा उनी अध्यक्ष बनेको चर्चा छ । ओझासँग वकालत र कर्पोरेट क्षेत्रमा काम गरेको अनुभव छ । ओझा विभिन्न क्याम्पसमा अध्यापन समेत गराउँदै आएका छन् । ओझाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । सिफारिस समितिले आवेदन दिएका १२ जनामध्ये कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम सर्टलिष्ट गरेको थियो ।