free website hit counter

बूढीगण्डकीमा भीषण बाढी : चुमनुब्रीमा ३५ घर बगे, आरुघाटको पुल पनि क्षतिग्रस्त

beemaadmin
२०८३ आश्विन २५, आईतवार

काठमाडौं । गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीका कारण करिब ३५ घर बगेका छन् भने माछिखोला बजारमा समेत क्षति पुगेको छ। गोरखा र धादिङलाई जोड्ने आरुघाटस्थित पुल पनि बाढीले बगाएको विवरण सार्वजनिक भएको छ।

प्राप्त विवरणअनुसार छेकम्पार क्षेत्रमा पहिरो खसेर नदी थुनिएको र चुम्चेतको स्यारखोलामा आएको भेलबाढीका कारण बूढीगण्डकीमा अचानक पानीको बहाव बढेको हो। बाढीले चुमनुब्रीका विभिन्न स्थानमा घर बगाउनुका साथै केरौंजा जाने झोलुङ्गे पुलसमेत बगाएको छ। यसबाट स्थानीय बासिन्दाको आवागमन प्रभावित भएको छ।

Advertisement
Advertisement

बाढीले आरुघाट बजारनजिकै रहेको गोरखा र धादिङ जोड्ने पुलसमेत बगाएपछि दुई जिल्लाबीचको सडक सम्पर्कमा अवरोध पुगेको बताइएको छ। यसअघि उत्तरी गोरखाका विभिन्न स्थानमा पुल तथा घरटहरामा क्षति पुगेको विवरण आएको थियो। नदीमा आएको बाढी र कटानका कारण तटीय क्षेत्रका बस्ती थप जोखिममा परेका छन्।

Advertisement
Advertisement

घटनापछि उद्धार तथा राहतका लागि गृहमन्त्री सुदन गुरुङसहितको टोली र सुरक्षा निकाय परिचालित भएका छन्। उद्धार कार्यमा हेलिकप्टरसमेत प्रयोग गरिएको जनाइएको छ।

यसैबीच, बाढी त्रिशूली दोभानसम्म पुग्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको बहाव घटबढ भइरहेकाले नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

सम्बन्धित समाचार