free website hit counter

ब्याज आम्दानी घटे पनि बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, कुन बैंकको कति ?

beemaadmin
२०८३ कार्तिक १६, आईतवार

काठमाडौं । कर्जा लगानी सुस्ताउँदा वाणिज्य बैंकहरूको ब्याज आम्दानी प्रभावित भए पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको खुद नाफा उल्लेख्य रूपमा बढेको छ। कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु र सेवा शुल्क तथा कमिसनबाट हुने आम्दानी बढ्नुले बैंकहरूको नाफामा सुधार आएको हो।

चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल १९ अर्ब १४ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको १३ अर्ब १४ करोड ९७ लाख रुपैयाँको तुलनामा ४५.६ प्रतिशत बढी हो।

Advertisement
Advertisement

समीक्षा अवधिमा १६ वटा बैंकको नाफा बढेको छ भने चारवटा बैंकको नाफा घटेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले सबैभन्दा उच्च दरमा नाफा बढाएको छ। बैंकको नाफा २५२२.४६ प्रतिशतले वृद्धि भई १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकले ४ करोड ५० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो।

Advertisement
Advertisement

त्यस्तै, कृषि विकास बैंकको नाफा १८०६.२८ प्रतिशतले बढेर १० करोड ९२ लाख रुपैयाँ पुगेको छ। राष्ट्रिय वाणिज्य बैंकको नाफा १७५.५२ प्रतिशतले वृद्धि भई १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। सिद्धार्थ बैंकको नाफा १६२.७५ प्रतिशतले बढेर ८५ करोड १५ लाख रुपैयाँ पुगेको छ भने सानिमा बैंकले १३१.१३ प्रतिशत वृद्धि गर्दै १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ।

रकमका आधारमा भने नबिल बैंक सबैभन्दा अगाडि छ। बैंकले पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफासहित दोस्रो स्थानमा छ। राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ।

बैंकहरूको नाफा बढ्नुमा कर्जा नोक्सानी व्यवस्थापन खर्च घट्नु प्रमुख कारण देखिएको छ। पछिल्ला दुई–तीन वर्षदेखि कर्जा लगानी अपेक्षाकृत सुस्त रहँदा ब्याज आम्दानीमा दबाब परेको छ। तर निक्षेपको ब्याजदर र कोष लागत घट्दा बैंकहरूको ब्याज खर्च कम भएको छ। यसले नाफामा सकारात्मक प्रभाव पारेको हो।

यसैगरी, बैंकहरूले सेवा शुल्क तथा कमिसनबाट प्राप्त गर्ने आम्दानी पनि बढाएका छन्। मुख्य बैंकिङ कारोबारबाट हुने आम्दानीमा दबाब रहे पनि गैरब्याज आम्दानीको वृद्धिले नाफा बढाउन सहयोग गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार बैंकिङ प्रणालीमा अधिक तरलता रहे पनि कोष लागत घटेकाले खर्च कम भएको छ। व्यवसाय अपेक्षाअनुसार विस्तार हुन नसके पनि कर्जा असुलीको अवस्था सन्तोषजनक रहेकाले प्रोभिजनिङ घटेको उनले बताएका छन्।

उनका अनुसार कर्जा असुलीमा सुधार र कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको कमीले बैंकको नाफा बढाउन सहयोग गरेको हो।

तर सबै बैंकको नाफामा भने सुधार देखिएको छैन। स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा २.९९ प्रतिशतले घटेर ६७ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ। हिमालयन बैंकको नाफा ६.८४ प्रतिशतले घटेर ६५ करोड ४८ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, प्राइम कमर्सियल बैंकको नाफा ५.६२ प्रतिशतले घटेर १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ कायम भएको छ। सिटिजन्स बैंक भने गत वर्षको पहिलो त्रैमासमा घाटामा रहेकामा यस वर्ष नाफामा फर्किएको छ। बैंकले समीक्षा अवधिमा १० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

सम्बन्धित समाचार