काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भारत भ्रमणको तयारी र एजेन्डाबारे तीन घण्टा छलफल भएको छ।
प्रधानमन्त्री शाहले शुक्रबार अपराह्न सभापति लामिछानेलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बोलाएर भारत भ्रमणका विषयमा छलफल गरेका हुन्।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार छलफलको मुख्य विषय प्रधानमन्त्रीको आसन्न भारत भ्रमण थियो। भेटमा प्रधानमन्त्री शाहले भ्रमणको तयारी र एजेन्डाबारे पार्टी सभापति लामिछानेलाई जानकारी गराएका थिए। सभापति लामिछानेले पनि भ्रमणका विषयमा आफ्ना धारणा र सुझाव राखेका थिए।
‘प्रधानमन्त्रीले पार्टी सभापतिसँग भारत भ्रमणकै विषयमा कुराकानी गर्नुभएको हो। उहाँले भ्रमणको तयारीबारे जानकारी गराउनुभयो। सभापतिज्यूले पनि आफूलाई लागेका कुरा भन्नुभयो,’ असिम शाहले बिजमाण्डूसँग भने।
निर्वाचन आयोगले आयोजना गरेको छलफलमा सहभागी भएर लामिछाने शुक्रबार अपराह्न २ बजे सिंहदरबार पुगेका थिए। त्यसपछि प्रधानमन्त्री र पार्टी सभापतिबीच करिब तीन घण्टा छलफल भएको थियो।
प्रधानमन्त्री शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि आइतबार अपराह्न १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।
भ्रमणमा प्रधानमन्त्रीको नेतृत्वमा ३४ सदस्यीय सरकारी टोली सहभागी हुनेछ। त्यसैगरी, ५२ जना उद्योगी तथा व्यवसायी पनि प्रधानमन्त्रीसँगै भारत जानेछन्।
प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणलाई नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य र द्विपक्षीय साझेदारीका दृष्टिले महत्वपूर्ण मानिएको छ।