कैलाली । विद्यालयबाट घर फर्कँदै गरेकी बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्याको १३ दिनपछि प्रहरीले आरोपीलाई पक्राउ गर्न सफल भएको छ । कञ्चनपुरकी निर्मला पन्तकै जस्तो हालत भागिरथीको पनि हुने त होइन भन्ने अवस्थामा घटना पुगेको बेला प्रहरीले अपराधी पत्ता लगाउन सफलता हात पारेको हो ।
प्रहरीले भागरथीको हत्यामा सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत युवक रहेको र उनले वलात्कार र हत्या गरेको स्वीकारेको प्रहरी भनाई छ । २१ माघमा बलात्कार र हत्या भए पनि त्यसको भोलि साँझ ५ बजे मात्रै लवलेक जङ्गलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र भागरथीको शव फेला पारेको थियो । आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतले बताएको छ ।
बलात्कार पछि घाँटी थिचेर हत्या गरेको प्रहरी अधिकारी बताउँछन् । भागरथीको बलात्कार पछि घाँटी थिचेर हत्या गरेको पोस्टमार्टम रिपोर्टले समेत पुष्टि गरिसकेको छ । सुदूरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले पक्राउ परेका आरोपीले घटना स्वीकार गरिसकेको बताए । आरोपी भागरथीका छिमेकी तथा सहपाठी हुन्, सो दिन विद्यालयबाट फर्किँदा बाटोमा बलात्कार तथा हत्या गरेको उनले स्वीकारेका छन् । घटना भएको पहिलो दिन देखिनै शङ्काको घेरामा रहेका युवकबाटै उनको हत्या भएको प्रहरी अधिकारीहरू बताउँछन् । ती युवक हाम्रो उच्च निगरानीमा थिए तर, पर्याप्त प्रमाण थिएन, अनुसन्धानमा खटिएका एक अधिकारीले भने, हामीले प्रमाण जम्मा गरेर उनलाई नियन्त्रण लिएका हौँ । प्रहरीले अभियुक्तलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेको आरोपीले बदला लिन यो घटना गराएको प्रहरीलाई बताएका छन् । बाबुको पालाको बदला लिन भागरथीका बलात्कार गरेको बयान आरोपीले दिएका छन्, अनुसन्धानमा आबद्ध एक अधिकृतले भने, छिमेकी दुई परिवार बिचमा पुरानो रिसइबी देखिन्छ । अन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।
भागरथीको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा आरोपी पनि सहभागी हुँदै आएका थिए । निर्मला पन्तको बलात्कार र हत्या प्रकरणका क्रममा अनुसन्धानमा भएको लापरबाहीले अझै दोषी पक्राउ पर्न सकेका छैनन् । निर्मला प्रकरणमा आलोचित बनेको प्रहरीले भागरथी हत्या प्रकरणमा राहत मिलेको छ ।
१० दिन देखि प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुबेदी आफै घटना स्थलमा खटिएर अनुसन्धान गरिरहेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट समेत डीएसपीको कमान्डमा प्रहरी टोली खटिएको थियो ।