free website hit counter

भोटेकोसीमा बाढीको वितण्डा : यातायात क्षेत्रकै डेढ अर्बभन्दा बढीको क्षति

beemaadmin
२०८३ मंसिर १२, शुक्रबार

काठमाडौं । भोटेकोसी नदीमा तीन महिनाअघि आएको बाढीले मानवीय क्षतिसँगै ठूलो परिमाणमा भौतिक सम्पत्ति बगाएको छ। बाढीले सार्वजनिक यातायात क्षेत्रका मात्रै ४०९ वटा सवारीसाधन बगाएको सरकारी अध्ययनले देखाएको छ। यसबाट ३८४ वटा सवारीसाधनमा एक अर्ब ४० करोड ७३ लाख ७७ हजार ८७५ रुपैयाँ बराबरको क्षति भएको छ। बाँकी २५ वटा सवारीसाधनको क्षति मूल्यांकन हुन बाँकी छ।

बाढीले भौतिक सम्पत्तिमा क्षति पुर्‍याउनुका साथै सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समेत असर पारेको छ। यसले प्रभावित क्षेत्रको जनजीवन र आर्थिक गतिविधिमा दीर्घकालीन प्रभाव पार्ने देखिएको छ।

Advertisement
Advertisement

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गठन गरेको अध्ययन समितिले तयार पारेको प्रतिवेदन मंसिर १० गते मन्त्रालयमा बुझाएको हो। गत भदौ २६ गते गठन गरिएको समितिलाई बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन र क्षतिपूर्तिको आधार निर्धारण गर्ने जिम्मेवारी दिइएको थियो।

Advertisement
Advertisement

यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजिव पोखरेलको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको थियो।

प्रतिवेदनअनुसार बाढीले ३१२ कन्टेनर, एउटा ट्रेलर, नौ टिपर, ३३ ट्रक, ३७ बस, नौ मिनी तथा माइक्रोबस, एउटा मोटरसाइकल, चार पर्यटकीय चारपांग्रे सवारीसाधन र तीन सार्वजनिक जिप तथा सुमो बगाएको छ।

कन्टेनर तथा मालवाहक ट्रकमा सबैभन्दा बढी क्षति पुगेको छ। ३२७ वटा कन्टेनर तथा मालवाहक ट्रक बगाउँदा एक अर्ब १६ करोड २२ लाख १९ हजार ८७५ रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ। थप १७ वटा कन्टेनर तथा मालवाहक ट्रकको क्षति मूल्यांकन हुन बाँकी छ।

त्यस्तै, ३९ वटा यात्रुवाहक तथा पर्यटक बस बगाउँदा १९ करोड ८९ लाख ६१ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ। नौ वटा मिनीबस तथा माइक्रोबस बगाउँदा तीन करोड चार लाख ५० हजार रुपैयाँको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

बाढीले बगाएका टिपरमध्ये ६ वटाको क्षति ८३ लाख ४३ हजार ५०० रुपैयाँ बराबर रहेको छ। बाँकी तीन टिपरको क्षति रकम खुल्न सकेको छैन।

त्यसैगरी, बाढीमा बगेका तथा पूर्ण क्षति भएका ६ वटा जिप, भ्यान र टाटा सुमोमध्ये एउटा भ्यानको मात्रै क्षति मूल्यांकन गरिएको छ। उक्त भ्यानको क्षति ४५ लाख ५० हजार रुपैयाँ रहेको छ।

एउटा ट्रेलरको २५ लाख रुपैयाँ र एउटा मोटरसाइकलको तीन लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ। क्षति रकम खुल्न बाँकी रहेका २५ वटा सवारीसाधनको मूल्यांकनपछि कुल आर्थिक क्षति अझै बढ्ने देखिन्छ।

बाढीमा ७८२ जनाको मृत्यु तथा बेपत्ता

भोटेकोसी बाढीबाट सार्वजनिक यातायात क्षेत्रसँग सम्बन्धित ७८२ जना प्रभावित भएको प्रतिवेदनले देखाएको छ। तीमध्ये ५३२ जना चालक, १११ जना सहचालक, १०६ जना यात्रु र ३३ जना यातायात व्यवसायी छन्।

प्रतिवेदनअनुसार ६७६ जना बेपत्ता छन् भने ३९ जनाको मृत्यु भएको छ। त्यस्तै, ६४ जनाको अवस्था अझै खुल्न सकेको छैन भने तीन जना घाइते भएका छन्।

सम्बन्धित समाचार