free website hit counter

महानगरभित्रका पाँच स्थानमा वाटर एटिएम राख्ने सम्झौता

beemaadmin
२०७६ चैत्र ९, आईतवार

काठमाडौं। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले काठमाडौं महानगरपालिकासँग महत्वपूर्ण सम्झौता गरेको छ । केहीसमयअघि ललितपुर महानगरपालिकासँग मिलेर वाटर एटिएम सञ्चालन गरेको बोर्डले अब काठमाडौं महानगरपालिकाभित्रका पाँच स्थानमा बैशाख १ गतेबाट वाटर एटिएम सञ्चालन गर्ने सम्झौता गरेको छ । नगरप्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीव विक्रम राणा र काठमाडौं महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि महानगरमा सेवाग्राहीले प्रति २ सय एमएल पानीका लागि जम्मा एक रुपैयाँ तिरे पुग्ने भएको छ । सो अवसरमा कार्यकारी निर्देशक राणाले वाटर एटिएममै व्यवस्थासँगै कागजबाट निर्मित २ सय एमएलको कप प्रयोग गर्न चाहेमा कपको छुट्टै एक रुपैयाँ लाग्ने, कप प्रयोग नगरी आफ्नै बोटलमा पानी थाप्दा भने प्रतिलिटर पानीको पाँच रुपैयाँ तिरे पुग्ने बताउनुभयो ।
सम्झौता अनुसार काठमाडौँ महानगर क्षेत्र भित्रका वडा ४ को शंखपार्क, वडा १५ स्वयम्भूको भुइँखेल, वडा १६ को बालाजु पार्क, वडा २८ को शंखधर पार्क र वडा ३१ को ट्रलीबस सेवा भएको कम्पाउण्डमा पहिलो चरणमा वाटर एटिएम राखिनेछ । तीन वर्षका लागि भएको सम्झौता अनुसार महानगरपालिकाले वाटर एटीएम राख्ने स्थान उपलब्ध गराउनुका साथै त्यसको सुरक्षा र बत्तीको पनि व्यवस्था गर्ने छ । महानगरपालिकाले तोकेका स्थानमा बोर्डले ३ महिनाको सञ्चालन र मर्मत खर्चसहित प्रति एटिएम १५ लाख ८६ हजारको लागतमा पाँच स्थानमा वाटर एटिएम राख्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार