काठमाडौं । आइतबार बसेको सञ्चालक समितिको बैठकदले सानिमा लाईफ इन्स्योरेन्सको सिईओमा अगम मुखिया नियुक्त गरेको छ । बीमा समितिबाट गत शुक्रबार अनुमति प्राप्त भएपछि आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले मुखियालाई चार वर्षको लागि सिईओमा नियुक्ती गर्ने निर्णय गरेको हो ।
मुखियाले सोमबार सानिमा लाईफ इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा कार्यभार ग्रहण गरी औपचारिक रुपमा काम सुरु गरेका छन् । नेपाल लाईफ इन्स्योरेन्सबाट बीमा क्षेत्रमा करिअर सुरु गरेका मुखियाले जीवन बीमा क्षेत्रमा १३ वर्षभन्दा बढि अनुभव सहित संयुक्त राष्ट्र संघीय नियोग आईएलओ समेत काम गरेर अनुभव बटुलेका छन् । काठमाडौं विश्व विद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर, त्रिभुवन विश्व विद्यालयबाट फिजिक्समा एमएस्सी उत्तिर्ण मुखिया पूर्वाञ्चल विश्व विद्यालयबाट कम्प्युटर एप्लिकेशनमा समेत स्नातकोत्तरको उपाधी प्राप्त गरेका छन् । जीवन बीमा व्यवसायमा नयाँ प्रडक्ट उत्पादन तथा मार्केटिङ सम्बन्धी रणनीति बनाउन माहिर मुखियाले अबको चार वर्ष सानिमा लाईफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका छन् । उनको दक्षताले बीमा बजारमा सानिमाको उपस्थिति गर्बिलो बनाउने अपेक्षा गरिएको छ ।