free website hit counter

यसरी हुँदैछ आज प्रदेश नं. ३ को छिनोफानो

beemaadmin
२०७६ पुष २५, शुक्रबार

काठमाडौं । प्रदेश नं. ३ को प्रदेश सभाले शुक्रबार प्रदेशको राजधानी र नामाकरण टुंग्याउने निश्चित जस्तै भएको छ । प्रदेशसभा गठन भएको करिब दुई वर्षपछि र लामो रस्साकस्सीपछि नेकपाको केन्द्रीय निर्देशनलाई आधार मान्दै प्रदेश सभाले आफ्नो प्रदेशको नामाकरण र मुकाम तोक्न लागेको हो ।

शुक्रबार बस्ने बैठकमा यससम्बन्धी प्रस्ताव संसद बैठकको पहिलो कार्यसूचिमा राखिएको बताइएको छ । नेकपा संसदीय दलभित्रका सांसदहरुको फरक फरक राय र रस्साकस्सी भए पनि पार्टी केन्द्रीय नेतृत्वले प्रदेश नं. ३ को राजधानी हेटौंडामै राख्ने र नाम बागमती राख्ने निर्देशन गत हप्ता नै दिएको थियो । पार्टीको निर्देशनको छायाँ प्रदेश सभा बन्न हुन्न भन्ने नेकपाका बहुमत सांसदहरुको राय हुँदाहुँदै पनि अन्ततः उक्त निर्देशन कार्यान्वय हुने भएको छ ।

पार्टी नेतृत्व आफ्नो निर्देशनबाट नडगमगाएपछि पार्टी इञ्चार्ज एवं सांसद अष्टलक्ष्मी शाक्य र नेता राजेन्द्र पाण्डेले हिउँदे अधिवेशनमा हेटौंडामा र वर्षे अधिवेशन काभ्रेमा राख्ने गरी मुकाम तोक्नुपर्ने पक्षमा रहे पनि उनीहरुको अडान पार्टी नेतृत्वको अगाडि केही लागेन ।

पार्टी नेतृत्वले आफ्नो निर्देशनको विरोधमा लागेका अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, पशुपति चौलागाईलगायतका प्रदेश सभाका शीर्ष नेताहरुलाई बालुवाटारमै बोलाएर पार्टीको निर्देशन कुनै पनि हालतमा तलमाथि नगर्न र गर्ने हो भने सांसद छाड्न तयार हुन कडा चेतावनी दिएपछि उनीहरु लुरुक्क हेटौंडा फर्केर पार्टी निर्देशन मान्न तयार भएका हुन् ।

यता पूर्व माओवादी खेमाका शालिकराम जमकट्टेललगायतका नेताहरु पनि प्रदेशको मुकाम र नामका विषयलाई लिएर असन्तुष्ट रहेको भए पनि अन्त्यमा उनीहरु पनि लगिसकेको बताइन्छ । करिब एक हप्ताको रस्साकस्सीपछि केन्द्रीय निर्देशनलाई संसदको अधिवेशनबाट अनुमोदन गराउन सरकार आज सफल हुँदैछ । यस सम्बन्धमा नेकपा प्रदेश सभाले ह्विप लगाउने तयारी समेत गरेको बताइन्छ । उता, नेपाली काँग्रेस, विवेकशील साझा पार्टीलगायतका दलहरु पनि यो निर्णयमा सहमत भएको बुझिएको छ ।

सम्बन्धित समाचार