काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने भएका छन्।
प्रधानमन्त्री शाह आइतबार मंसिर ६ गते दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी दुईदिने राजकीय भ्रमणका लागि भारत जान लागेका हुन्।
गत चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
परराष्ट्र मन्त्रालयका अनुसार दिल्ली पुगेपछि प्रधानमन्त्री शाहले सबैभन्दा पहिले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछन्। त्यसपछि मंसिर ७ गते भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।
उक्त वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने विषयले प्राथमिकता पाउने परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए।
भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संशाधन विकासलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी विभिन्न समझदारीपत्र (एमओयू) समेत आदानप्रदान गरिने उनले बताए।
‘भ्रमणका क्रममा सहकार्यका विविध क्षेत्र समेटिएका समझदारीपत्रहरू आदानप्रदान गरिनेछन्। यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुनेछ,’ सचिव राईले भने।
नेपालको महत्वपूर्ण विकास साझेदारका रूपमा रहेको भारतसँग विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि दुवै देशका नेतृत्वबीच छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र सचिव राईले नेपाल र भारतबीचको ऐतिहासिक, सभ्यतागत, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन उच्चस्तरीय भ्रमण महत्वपूर्ण हुने बताए।
‘द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने दिशामा उच्चस्तरीय भ्रमणहरू अपरिहार्य हुन्छन्। हाम्रा दुई देशबीच इतिहास, सभ्यता, संस्कृति तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहिआएको छ,’ उनले भने, ‘आसन्न भ्रमणले नेपाल र भारतबीचको मैत्रीपूर्ण एवं सहयोगात्मक सम्बन्धलाई थप उचाइ प्रदान गर्ने विश्वास लिएका छौँ।’
प्रधानमन्त्री शाहको नेतृत्वमा भारत भ्रमणमा जाने सरकारी टोली ३४ सदस्यीय हुनेछ। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ अधिकारी सहभागी हुनेछन्।
त्यसैगरी, नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट राजदूतसहित केही सदस्य भ्रमण टोलीमा थपिनेछन्।