न्यूयोर्क । जनप्रतिनिधि बन्नका लागि टिकट लिने बेलादेखिनै हामीकहाँ तँछाडमछाड हुन्छ । चुनाव जित्नका लागि त्यस्तै हतकण्डा अपनाइन्छ । अमेरिकाको जर्जटाउन सहरमा भने एक कुकुरलाई मेयर बनाइएको छ । उक्त सहरमा पार्कर नामक कुकुर मेयर बन्न सफल भएको हो ।
जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहका बीच पार्करले सहरको मेयर पदको सपथ ग्रहण गरेको हो । गत फेब्रुअरी ११ मा छनोट बोर्डका सदस्यहरुले मतदान मार्फत पार्करलाई सहरको मेयरमा निर्वाचित गरेको थियो ।
मेयरमा निर्वाचित कुकुरलाई न्यायाधीश लिनेट केल्सीले सपथ खुवाएका हुन् । सपथ ग्रहण समारोहमा स्थानीय बासिन्दाहरु तथा कुकुरप्रेमीहरु समेत सहभागी भएका थिए । सपथ सँगै मेयरको पदभार ग्रहण गर्नका लागि पार्कर पूरा पहिरनमा समारोहस्थल पुगेको थियो । समारोहका क्रममा पार्करले टाई तथा क्याप र चश्मा लगाएको थियो । (एजेन्सी)