काठमाडौँ । जेनजी आन्दोलनका क्रममा देशभर करिब १ खर्ब ८० अर्ब रुपियाँ बराबरको क्षति भएको देखिएको छ । यो आँकडा सार्वजनिक र निजी क्षेत्रको प्रारम्भिक अध्ययनको हो । आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट तथा आगजनीका कारण यस्तो क्षति देखिएको हो । आन्दोलनका क्रममा सबैभन्दा धेरै सार्वजनिक सम्पत्तिमा मात्रै एक खर्ब रुपियाँ बराबरको क्षति भएको सरकारले जनाएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कुलमान घिसिङले यस्तो जानकारी गराउनुभएको हो । जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकालगायत देशभर सरकारी कार्यालय तथा सवारीसाधनमा क्षति पुगेको थियो । काठमाडौँमा सिंहदरबारपरिसरभित्रका विभिन्न मन्त्रालय तथा सवारीसाधन, सर्वोच्च अदालत सङ्घीय संसद् भवनदेखि देशभरका विभिन्न प्रदेश कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय तथा स्थानीय निकायका विभिन्न कार्यालयमा व्यापक तोडफोड, लुटपाट तथा आगजनी भएको थियो । मन्त्री घिसिङका अनुसार यो अनुमान प्रारम्भिक सूचनाका आधारमा मात्रै गरिएको हो । हामीले विस्तृत अध्ययनका लागि सहरी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगमार्पmत प्राविधिक टिम परिचालन गरिसकेका छौँ, घिसिङले भन्नुभयो, देशभर सार्वजनिक सम्पत्तिमा ठुलो परिमाणमा क्षति भएको देखिएको छ, प्रारम्भिक आकलनमा एक खर्ब रुपियाँ जति क्षति भएको हामीले आकलन गरेका छौँ । क्षतिको मूल्याङ्कनका लागि विभिन्न प्राविधिक संस्थाले स्वेच्छिक रूपमा सहयोग पनि गरिरहेको उहाँले जानकारी दिनुभयो । यकिन विवरण प्राप्त हुन भने केही समय लाग्ने उहाँको भनाइ छ । प्राप्त विवरण अनुसार गण्डकी प्रदेशका स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार मन्त्रालयबाहेकका सबै प्रादेशिक कार्यालय ध्वस्त भएका छन् । बागमती प्रदेशका २६ कार्यालय तथा ६० वटा भवन जलेर नष्ट भएको जनाइएको छ । कर्णाली प्रदेशका प्रदेश सभा भवन, मुख्य मन्त्रीको कार्यालय, प्रदेश लेखा नियन्त्रण कार्यालयलगायतका संरचना ध्वस्त छन् । सरकारी स्वामित्वका सवारीसाधनतर्फ मात्रै देशभरमा एक हजार २६, चारपाङ्ग्रे सवारीसाधन नष्ट भएको छ । लोडर ब्याकहोलदेखि साना सवारीसाधन यसमा समेटिएका हुन् । त्यस्तै दुईपाङ्ग्रेतर्फ एक हजार ९८३ वटा सवारीसाधन जलेको प्रारम्भिक आँकडा छ । सरकारले यससम्बन्धी विवरण भने सार्वजनिक गरिसकेको छैन । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाले पनि निजी क्षेत्रतर्पmको क्षतिको विवरण करिब ८० अर्ब रुपियाँ भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार महासङ्घले जिल्ला जिल्लाका संयन्त्रमार्फत यससम्बन्धि विवरण सङ्कलन गरिरहेको छ । निजी क्षेत्रतर्फ सबैभन्दा धेरै भाटभटेनी सुपरस्टोरको मात्रै एक अर्ब रुपियाँ बराबरको प्रारम्भिक क्षति भएको अनुमान छ । विदेशी लगानीको होटेल हिल्टन जल्दा करिब छ अर्बको क्षति भएको दाबी गरिएको छ । तोडफोड र आगजनीकै कारण दसैँको मुख्य सिजनमा चन्द्रागिरि केबुल कार, मौलाकालिका केबुलकार पनि क्षतिग्रस्त बनेका छन् । चौधरी ग्रुपको सिजी पार्क जलेर खरानी भइसकेको छ । यसको विस्तृत विवरण आउन बाँकी छ । देशका विभिन्न स्थानमा रहेका होटेलदेखि मलमा रहेका पसलमा लुटपाट तथा आगजनी हुँदा साना व्यवसायीले पनि अपूरणीय क्षति बेहोरेका छन् ।
दाबी २३.३९ अर्ब बढी बीमा दाबी
जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका बीमांकृत सम्पत्तिको बीमा दाबी बढ्दै गएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आज असोज ८ गतेसम्मको तथ्यांकअनुसार भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशभर विभिन्न स्थानमा भएका आगजनी र तोडफोडबाट भएको क्षतिमा १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ बढीको दाबी परेको परेको हो। यो रकम कम्पनीहरुमा परेका २ हजार ९८८ वटा दाबीको हो। सबैभन्दा बढी रकमको दाबी सिद्धार्थ प्रिमियरमा परेको छ। यो कम्पनीले ३०७ वटा दाबीको ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने तथ्यांकले देखाएको छ। दोस्रो धेरै रकमको दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ। यो कम्पनीले ८६ वटा दाबीको ५ अर्ब २३ करोड २४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। यसैगरी तेस्रोमा आइजीआई प्रुडेन्सियलले २ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ बीमा दाबीबापत भुक्तानी गर्नुपर्ने देखिएको छ। यो कम्पनीमा १९६ वटा दाबी परेको छ। शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड १३ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५७ करोड ५९ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब २३ करोड ७८ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा १ अर्ब १२ करोड ४३ लाख रुपैयाँ बढी रकमको दाबी परेको छ। तथ्यांकअनुसार शिखर इन्स्योरेन्समा ३९७ वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२२ वटा, हिमालयन एभरेष्ट इन्स्योरेन्समा २६१ वटा र नेको इन्स्योरेन्समा २२९ वटा दाबी परेको छ। प्राधिकरणका अनुसार राष्ट्रिय बीमा कम्पनीमा ९० करोड ६८ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्समा ८४ करोड ४४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ५३ करोड २० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ५१ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४८ करोड २ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा २० करोड ४९ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्समा ६ करोड ८९ लाख रुपैयाँबराबरको बीमा दाबी परेको छ। उता लघु निर्जीवन बीमा कम्पनीतर्फ प्रोटेक्टिभ माइक्रोमा १ करोड १५ लाख रुपैयाँ, स्टार माइक्रोमा ७२ लाख ३८ हजार रुपैयाँ, ट्रस्ट माइक्रोमा ४४ लाख रुपैयाँ र नेपाल माइक्रोमा ४१ लाख ५० हजार रुपैयाँबराबरको बीमा दाबी परेको छ।