free website hit counter

रसुवा बाढी : नौ बैंकमा क्षति, २७ कर्मचारी सम्पर्कविहीन

beemaadmin
२०८३ भाद्र १५, सोमबार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बैंक तथा शाखाहरूको क्षतिको विस्तृत विवरण संकलन भइरहेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताएका छन्।

अध्यक्ष कोइरालाका अनुसार हालसम्म नौ वटा बैंकमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। साथै, ती बैंकमा कार्यरत २७ जना कर्मचारी अझै सम्पर्कविहीन अवस्थामा छन्।

उनका अनुसार सम्पर्कविहीन कर्मचारीहरूको अवस्था यकिन हुन सकेको छैन। उनीहरूलाई हाल बेपत्ताको सूचीमा राखिएको छ र खोजी तथा सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ।

बाढीका कारण टिमुरे, स्याफ्रुबेँसीलगायत प्रभावित क्षेत्रमा रहेका बैंकका शाखा कार्यालयमा ठूलो क्षति पुगेको छ। यसअघि प्राप्त विवरणअनुसार केही शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

बैंकका शाखामा रहेको लकर, भल्ट, नगद तथा अन्य भौतिक सम्पत्तिमा कति क्षति भयो भन्ने विवरण भने तत्काल यकिन गर्न सकिने अवस्था छैन। प्रभावित क्षेत्रमा पुगेर स्थलगत मूल्याङ्कन गर्न कठिनाइ भएकाले विस्तृत विवरण संकलनमा समय लागिरहेको बैंकर्स संघले जनाएको छ।

अध्यक्ष कोइरालाले विस्तृत विवरण संकलनको काम भइरहेको र भोलि दिउँसोसम्म क्षतिको समग्र विवरण प्राप्त हुने अपेक्षा गरिएको बताएका छन्। 

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रसँगै जलविद्युत्, सडक, पुल तथा अन्य महत्वपूर्ण पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। विपद्पछि उद्धार तथा राहत कार्य जारी रहेकाले प्रभावित क्षेत्रमा बैंकिङ सेवा पुनः सञ्चालन गर्ने विषयसमेत चुनौतीपूर्ण बनेको छ।

सम्बन्धित समाचार