काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीमा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकको विवरणबारे दाबी–विरोध पेस गर्न सात दिनको समय दिएको छ। प्राधिकरणले बेपत्ता सूचीमा रहेका व्यक्ति जीवित अवस्थामा फेला परेको वा विवरणमा कुनै त्रुटि भए आवश्यक प्रमाणसहित दाबी पेस गर्न आग्रह गरेको हो।
प्राधिकरणले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) बमोजिम अत्यन्त जरुरी सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।
सूचनाअनुसार बेपत्ता सूचीमा समावेश व्यक्ति जीवित रहेको वा फेला परेको अवस्थामा सम्बन्धित व्यक्ति स्वयं वा निजको एकाघरको परिवारले सात दिनभित्र दाबी पेस गर्नुपर्नेछ।
स्वदेशी नागरिकको विवरण सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा तयार पारिएको प्राधिकरणले जनाएको छ। विदेशी नागरिकको हकमा भने सम्बन्धित देशको नेपालस्थित कूटनीतिक नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरणलाई आधार बनाइएको छ।
प्राधिकरणले यसअघि पहिलो पटक कात्तिक २१ गते र दोस्रो पटक मंसिर ५ गते बेपत्ता नागरिकको विवरण सार्वजनिक गरेको थियो। पहिलो चरणमा सार्वजनिक गरिएको सूचीमा नसमेटिएका थप १७ जिल्लाबाट यकिन भएर आएका ९९८ जनाको विवरण पनि पछिल्लो सूचीमा समावेश गरिएको छ।
बेपत्ता सूचीमा नाम नपरे पनि व्यक्ति बेपत्ता भएको पुष्टि भइसकेको अवस्थामा परिवारका सदस्यले आवश्यक कागजात र प्रमाणसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्राधिकरणमा निवेदन दिन सक्नेछन्। त्यस्तै, सूचीमा रहेका व्यक्तिको नाम, थर, ठेगाना लगायतका विवरणमा त्रुटि भएको वा केही विवरण छुटेको भए त्यसलाई सच्याउन पनि परिवारजनले निवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार थप १७ जिल्लाका बेपत्ता नागरिकमध्ये सबैभन्दा धेरै नुवाकोटका ६३१ जना छन्। यस्तै, गोरखाका ६७, दोलखाका ५९, सोलुखुम्बुका ५२, मकवानपुरका ५०, सल्यानका ४८, कञ्चनपुरका २६, रोल्पाका २५ र बाँकेका १७ जना रहेका छन्।
यसैगरी दैलेखका ६, गुल्मीका ५, हुम्लाका ३, दार्चुलाका ३, मोरङका २, पाँचथरका १, सर्लाहीका थप १ र बझाङका २ जना बेपत्ताको विवरणमा समेटिएका छन्।
विवरणमा थपघट वा संशोधन गर्नुपर्ने भए फरक परेको विषय स्पष्ट खुलाएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा वा प्राधिकरणको इमेल ndrrma@gmail.com मा दाबी पठाउन सकिनेछ। थप जानकारीका लागि ९८५१३२०२६९ वा ९८४९२८१०९७ नम्बरमा सम्पर्क गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।
विदेशी नागरिकको विवरणमा १२ देशका ४५२ जना
प्राधिकरणले विदेशी नागरिकतर्फ पहिलो चरणमा सार्वजनिक सूचीबाहेक थप १२ देशका नियोगबाट यकिन भएर प्राप्त ४५२ जनाको विवरण पनि समावेश गरेको छ।
नयाँ विवरणअनुसार सबैभन्दा धेरै भारतीय नागरिक २१३ जना छन्। चीनका ८५, अमेरिकाका ६९, बेलायतका ३२, क्यानडाका २७, सिंगापुरका ९, दक्षिण अफ्रिकाका ६ र फ्रान्सका ४ जना रहेका छन्।
त्यस्तै, हंगेरी, बेल्जियम र कजाकस्तानका दुई–दुई जना तथा बेलारुसका एक जना विदेशी नागरिकको नाम पनि सूचीमा समावेश गरिएको छ।
विदेशी नागरिकको विवरणमा कुनै दाबी वा विरोध भएमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।
बेपत्ता स्वदेशी नागरिक तथा भारतीय नागरिकको विवरण प्राधिकरणको वेबसाइट https://setu.ndrrma.gov.np/missing/ मा गएर हेर्न सकिनेछ। सम्बन्धित स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयबाट पनि विवरण प्राप्त गर्न सकिने प्राधिकरणले जनाएको छ।