free website hit counter

राष्ट्र बैंकमा निर्देशक को कता ?

beemaadmin
२०७७ चैत्र ३, मंगलवार

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले कार्यकारी निर्देशकहरुको व्यापक सरुवा गरेका छन् । कार्यकारी निर्देशकहरुको व्यापक सरुवा भएको हो । गभर्नरले तोकेको नयाँ कार्यविभाजन अनुसार हाल बैंक सुपरिवेक्षण विभागमा रहेका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीलाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।

उनको रिक्त ठाउँमा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई लगिएको छ । त्यस्तै, हाल विकास बैंक सुपरिवेक्षण विभागमा रहेका कार्यकारी निर्देशक ऋषिकेश भट्टलाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सरुवा गरिएको छ । उनको ठाउँमा वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सरुवा गरिएको छ । बैंकिङ विभागका कार्यकारी निर्देशक नरेश शाक्यलाई राष्ट्रऋण व्यवस्थापन विभागमा पठाइएको छ । डा। नीलम ढुंगाना डेपुटी गभर्नर भएपछि यो विभाग कार्यकारी निर्देशकविहिन थियो । शाक्यलाई राष्ट्रऋणमा पठाएसँगै रिक्त भएको बैंकिङ विभागमा संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरलाई पठाइएको छ ।

त्यस्तै, सम्पत्ति सेवा विभागमा रहेका सुमनकुमार अधिकारीलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा पठाइएको छ । लघुवित्त सुरपरिवेक्षणका कार्यकारी निर्देशक रहेका डा प्रकाशकुमार श्रेष्ठलाई अनुसन्धान विभागमा सरुवा गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलको आर्थिक सल्लाहकारका रुपमा काजमा अर्थ मन्त्रालयमा खटिएका उनलाई आर्थिक अनुसन्धान विभागमा सरुवा गरिएको हो । अहिले जनशक्ति व्यवस्थापन विभागको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक रामु पौडेललाई विदेशी विनिमय विभागमा पठाइएको छ ।

बमबहादुर मिश्र डेपुटी गभर्नरमा नियुक्त भएसँगै यो विभाग रिक्त थियो । सोही विभागमा निर्देशक रहेका तुल्सीप्रसाद घिमिरेलाई कामु कार्यकारी निर्देशक बनाएर जनशक्ति व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । उता, रामबहादुर मानन्धर बैंकिङ विभागमा सरुवा भएपछि खाली रहेको संस्थागत योजना विभागमा हाल मुद्रा व्यवस्थापन विभाग निर्देशक रहेका दयाराम शर्मा पंगेनीलाई पठाएर कामु मुकरर गरिएको छ ।

सम्बन्धित समाचार