free website hit counter

रास्वपा सांसदहरूको गोप्य संवाद छताछुल्ल

beemaadmin
२०८३ मंसिर ६, शनिबार

काठमाडौं । चीन भ्रमणमा रहेका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबीच भएको आन्तरिक राजनीतिक संवादको अडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद उत्पन्न भएको छ। उक्त अडिओ सुरुमा सामाजिक सञ्जालमा पोस्ट गर्ने सांसद श्रीराम न्यौपानेले भने स्पष्टीकरण दिँदै संवादको बचाउ गरेका छन्।

सार्वजनिक अडिओमा सांसदहरूबीच नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतको राजनीतिक अभिव्यक्ति तथा त्यसबाट रास्वपालाई हुन सक्ने फाइदाबारे छलफल भएको सुनिन्छ।

Advertisement
Advertisement

उनीहरूबीच ‘कांग्रेसको आधिकारिकता सर्वोच्चले देउवालाई दिनुपर्छ, ओली र महेश बस्नेत अझ चर्को भएर आउनुपर्छ, उनीहरू चर्को हुँदा नै हामीलाई फाइदा हुन्छ। हामीले पनि काम गरेर देखाउन सक्नुपर्छ, नत्र हामीलाई पनि त्यही ठाउँमा पुर्‍याइदिन्छन्’ भन्ने संवाद भएको सुनिन्छ।

Advertisement
Advertisement

अडिओ सार्वजनिक भएपछि सांसद न्यौपानेले आफ्नो फेसबुकबाट सम्बन्धित भिडिओ हटाएका थिए। तर, अहिले उनले अर्को फेसबुक पोस्टमार्फत उक्त संवादको आशय स्पष्ट पार्ने प्रयास गरेका छन्।

चीन भ्रमणमा रहेको रास्वपा टोलीका सदस्य न्यौपानेले शुक्रबार आफ्नो फेसबुकमा रोबोट हिँडिरहेको भिडिओ पोस्ट गरेका थिए। सोही भिडिओमध्ये एउटामा रास्वपा सांसदहरूबीचको राजनीतिक संवादसमेत रेकर्ड भएको थियो। अहिले उनको फेसबुकमा ती भिडिओ उपलब्ध छैनन्।

यद्यपि, जनआस्थाका सम्पादक किशोर श्रेष्ठले उक्त भिडिओ आफ्नो फेसबुकमा राखिसकेका छन्। त्यसपछि अडिओमा सुनिएको संवाद राजनीतिक वृत्त र सामाजिक सञ्जालमा चर्चाको विषय बनेको हो।

विवाद चर्किएपछि सांसद न्यौपानेले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले उक्त संवादको मूल आशय पुराना राजनीतिक दलप्रति जनतामा रहेको असन्तुष्टि र रास्वपाले पाएको अवसरलाई सदुपयोग गर्नुपर्ने आवश्यकतासँग जोडिएको बताएका छन्।

न्यौपानेले लेखेका छन्, ‘देउवा, ओली र प्रचण्डको विगतको कार्यशैलीप्रति जनतामा देखिएको असन्तुष्टि र परिवर्तनको अपेक्षाकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकपटकका लागि मत परिवर्तन गर्दै जनताले अत्यधिक मत दिएका हुन्।

जनताले दिएको यो अभूतपूर्व अवसरलाई सदुपयोग गर्दै सुशासन, विकास र सेवा प्रवाहमा ठोस परिणाम दिन सक्नुपर्छ। जनताको अपेक्षाअनुसार काम गरेर परिणाम घरदैलोसम्म पुर्‍याउन सकेनौँ भने आगामी निर्वाचनमा हामीले पनि विगतका राजनीतिक दलहरूले सामना गरेको जनविश्वासको संकट बेहोर्नुपर्ने अवस्था आउन सक्छ।’

उनले अनौपचारिक छलफलको निष्कर्ष पनि जनताले दिएको मत र विश्वास स्थायी नहुने तथा त्यसलाई काम, इमानदारी र परिणामबाट प्रमाणित गर्नुपर्ने रहेको बताएका छन्।

‘हाम्रो अनौपचारिक छलफल र संवादको मूल निष्कर्ष यही थियो– जनताले दिएको मत र विश्वास स्थायी होइन; त्यसलाई काम, इमानदारी र नतिजाबाट प्रमाणित गर्नुपर्छ। यथार्थ पनि यही नै हो,’ न्यौपानेले लेखेका छन्।

सम्बन्धित समाचार