काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुबीमा कम्पनीहरुले साढे २३ करोड रुपैयाँ बराबरको व्यवसाय भित्राएका छन् । सञ्चालनमा रहेका ३ लघु जीवन बीमा कम्पनी र ४ निर्जीवन लघुबीमा कम्पनी गरी कुल ७ वटा लघुबीमा कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । जसमध्ये लघुजीवन बीमा कम्पनीहरुले ७ करोड ८८ लाख रुपैयाँ प्रमियम कलेक्सन गरेका छन् भने लघु निर्जीवन बीमा कम्पनीहरुले १५ करोड ५३ लाख रुपैयाँ प्रिमियम भित्राएका छन् । लघु जीवन बीमातर्फ सर्वाधिक क्रेष्ट माइक्रो लाइफले ४ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ, भने गार्डियन माइक्रो लाइफले २ करोड ४ लाख रुपैयाँ र लिवर्टी माइक्रो लाइफले १ करोड २ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । सक्रिय बीमालेख संख्याको आधारमा पनि क्रेष्ट माईक्रो लाइफ नै अगाडी रहेको छ । तेस्रो त्रैमाससम्म क्रेष्ट माइक्रो लाइफमा कायम बीमालेख संख्या १९ हजार ९१७ रहेको छ । त्यस्तै, गार्डियनमाइक्रो लाइफमा ११ हजार ४८१ र लिवर्टीमाइक्रो लाइफमा २ हजार ६१६ रहेको छ । त्यस्तै, लघु निर्जीवन बीमातर्फ भने सर्वाधिक नेपाल माइक्रोले व्यवसाय भित्राएको छ । कम्पनीले ६ करोड ६२ लाख रुपैयाँ प्रिमियम संकलन गरेर सर्वाधिक व्यवसाय गर्ने लघुबीमा कम्पनी बनेको छ । त्यस्तै, प्रोटेक्टिभ माइक्रोले ४ करोड ९८ लाख रुपैयाँ, स्टार माइक्रोले ३ करोड २८ लाख रुपैयाँ र ट्रस्ट माइक्रो लाइफले ६३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । जारी बीमालेख संख्याको आधारमा पनि नेपाल माइक्रो इन्स्योरेन्स नै अघि छ । कम्पनीको जारी बीमालेख संख्या ३३ हजार ७०४ छ । त्यस्तै, स्टार माइक्रोको १६ हजार ६८६, प्रोटेक्टिभ माइक्रोको १५ हजार ६२३ र ट्रस्ट माइक्रो इन्स्योरेन्सको २ हजार ७६६ रहेको छ ।