काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न लुम्बिनी विकास बैंक लिमिटेडले साधारण सभा बोलाएको छ। बैंकले पुस २९ गते, सोमबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।