एजेन्सी । कोरोना भाइरसको संक्रमण रोक्न विश्व बजारलाई नै ठप्प प्राय बनाइएको छ । अत्यावश्यक वस्तुबाहेकका उत्पादन बन्द अवस्थामा छन् । अहिलेको प्राथमिकता औषधि, चिकित्सकलाई आवश्यक सुरक्षा सामग्री, खाद्यान्न परेकोछ । तर विश्वभरका मानिसलाई घर घरमा थुन्दाको परिणाम विश्व बजारमा कण्डमको अभाव देखिएको छ । अहिले विश्वको आधाभन्दा धेरै जनसंख्या घरभित्रै सीमित छन्। मलेसिया कण्डम लगायत विश्वकै ठूलो रबर उत्पादक हो। त्यहाँ गएको महिनादेखि देशव्यापी बन्दाबन्दी लागु गरिएको छ। मलेसियामा गर्भनिरोधकको ठूलो उत्पादक क्यारेक्सको सञ्चालनमा नियन्त्रण गरिएको छ। विश्वका पाँचमध्ये एउटा कण्डम यही कम्पनीले उत्पादन गर्छ। योसँगै मार्चको मध्यदेखि अप्रिलको मध्यसम्म संसारमा २० करोड कण्डम थोरै उत्पादन हुने देखिएको छ।
यातायातमा समस्या भएकाले विश्वका अन्य उत्पादकले कण्डमलाई बजारसम्म पुर्याउन कठिनाइ खेपिरहेको छ ।
क्यारेक्सले थुप्रै कम्पनी र सरकारहरूलाई कण्डम आपूर्ति गर्छ। विभिन्न अनुदान कार्यक्रमलाई पनि कण्डम वितरण गर्दछ। लकडाउनसँगै कम्पनीले मलेसियास्थित तीन वटा कम्पनी बन्द गर्नुपरेको छ । संयुक्त राष्ट्र संघले पनि यसमा चासो र चिन्ता व्यक्त गरेको छ। भाइरसका कारण सिर्जना भएको बाधा व्यवधानका कारण साबिकको तुलनामा ५०–६० प्रतिशतमात्रै कण्डम आपूर्ति भइरहेको संघले जनाएको छ।
कारखाना र सीमा बन्द हुँदा कण्डम उद्योग धरासायी भइरहेको छ भने माग पनि उत्तिकै बढिरहेको छ। मानिसहरू घरभित्र सीमित भएकाले संसारभरि कण्डमको माग बढेको छ । लकडाउन घोषणा गरिएको एक सातापछि कण्डमको विक्री २५ देखि ३५ प्रतिशत बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।